गूप्तचरमा भागवण्डा मिलाउन दरबन्दी थप : थापा र जोशी एआइजीमा बढुवा


काठमाण्डु – सरकारले देशको एक मात्र गूप्तचर विभागमा दरबन्दी थपेर एआइजीको बढुवा गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले गूप्तचरको एआईजीमा डिआईजीहरु हुतराज थापा र ओम जोशीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

गूप्तचरमा साउन ३ गतेदेखि एआइजीको एक दरबन्दी रिक्त थियो । एआईजी बढुवामा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागवण्डा नमिल्दा बढुवा प्रक्रिया केही समय अवरुद्ध भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीलाई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले थापालाई एआइजी बनाउन खोजेका थिए । तर, गूप्तचरमा एउटा मात्र पद रिक्त थियो । दुवै नेताबीच भागवण्डा नमिलेपछि दरबन्दी नै थपेर एआइजी बढुवा गरिएको हो ।

गूप्तचरमा रातारात ओएनएम गरेर दुई जना एआईजीको दरबन्दी बनाइएको छ । अर्थमन्त्रालयले प्रधानमन्त्री कार्यालयको दरबन्दी थप्ने प्रस्ताव बुधबार मात्र सहमति दिएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको प्रशासनिक खर्च कटौती शिर्षकको ३७९ नम्बर बुदामा निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयां दरबन्दी थप गरिने छैन भन्ने विषय उल्लेख छ । तर, गूप्तचरमा आफु निकट अधिकारीलाई बढुवा गर्न सरकारले आफ्नै निर्णयलाई लत्याउने काम गरेको छ ।

३४ हजार दरबन्दी रहेको सशस्त्र प्रहरी बलमा दुई एआईजीको दरबन्दीले काम गरिरहेको छ भने ३ हजार पुग नपुग संख्या भएको गूप्तचरमा भने भागवण्डा पुर्याउनकै लागि दरबन्दी थप गरिएको छ ।

हालका गूप्तचर प्रमुख यादव खरेलले आगामी भदौ २३ पछि अनिवार्य अवकास पाउंदैछन् । त्यसपछि थापा र जोशीमध्ये एक जना प्रमुख बन्ने भएकाले पनि गूप्तचरमा एआइजीको बढुवा पेचिलो बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement