गूप्तचरमा एआईजी बढुवा रोकियो : प्रतिस्पर्धीहरु सत्तारुढ दलका नेता गुहार्दै


काठमाण्डु-  देशको एक मात्र गूप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा एआईजी पद रिक्त भएको एक महिनाभन्दा बढी भएपनि बढुवा प्रक्रिया भने अघि बढ्न सकेको छैन । गुप्तचरका एआईजी यादव रेग्मीले वैशाख पहिलो साता अनिवार्य अवकास पाएका थिए । तर, रिक्त एआईजी पदमा भने अहिलेसम्म बढुवा हुन नसकेको हो ।

एआईजी बढुवाका लागि डीआईजीहरु ओम जोशी, टेकेन्द्र कार्की, हुतराज थापा, हरिहर पौडेल र कुलदिप थापा प्रतिस्पर्धामा छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रिक्त एआईजी पदमा बढुवा भइसक्दा गूप्चतरमा भने बढुवा प्रक्रिया अवरुद्ध भएको हो ।

एआईजी बढुवाका लागि बालुवाटारले सुरुमा डिआईजी जोशीलाई वचन दिएपनि पछिल्लो समय थापाले आफु सिनियर भएको भन्दै माहोल बनाइरहेका छन् । थापाले जाजरकोटका कांग्रेस नेता राजिव विक्रम शाहीदेखी अर्थमन्त्री जनार्दन शर्मामार्फत दबाव बढाएका हुन् । यता जोशीको लागि कांग्रेस नेता रमेश लेखक र कार्कीको लागि कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले लविङ गरिरहेका छन् ।

थापा खुमलटारमा उम्मेदवार हुन भने जोशी र कार्की बालुवाटारका हुन् । थापालाई अहिले बढुवा गर्न नसके दरबन्दी सिर्जना गरेर पनि एआईजी बनाउने दाउ छ । अर्थमन्त्री शर्माले त्यसका लागि गृहमन्त्री बालकृष्ण खांडसंग समेत छलफल गरेको स्रोतको दावी छ । तर, दरबन्दी थपका लागि शर्माकै निर्णय बाधक बनेको छ ।

शर्माले ल्याएको बजेटको प्रशासनिक खर्चमा कटौती शिर्षकको ३७९ नम्बर बुदामा निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयां दरबन्दी थप गरिने छैन भन्ने विषय उल्लेख छ । त्यसैपनि ३४ हजार दरबन्दी रहेको सशस्त्र प्रहरी बलमा दुई एआईजीको दरबन्दीले काम गरिरहेको छ भने ३ हजार पुग नपुग संख्या भएको गूप्तचरमा थप दरबन्दी किन चाहियो भन्ने प्रश्न समेत छ ।

अहिले एआईजीमा बढुवा हुने डीआईजी हालका आईजीपी यदु खरेलले भदौ २३ मा अनिवार्य अवकास पाएसंगै आईजीपी हुने भएकाले पनि प्रतिस्पर्धा तिव्र छ । त्यसैले पनि एआईजी बढुवा गर्न सरकारलाई अफ्ठेरो परेको प्रधानमन्त्री कार्यालयतिर चर्चा हुने गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरुले आफु निकट डिआईजीलाई बोकेर हिंडेपछी प्रधानमन्त्री शेरबहादुर देउवालाई अफ्ठेरो परेको स्रोत बताउंछ ।

अहिले पनि रिक्त एआईजीका लागि अहिले सबैभन्दा बढी सम्भावना डीआईजी जोशीको रहेको छ । उनि बालुवाटारको रोजाईमा एक नम्बरमा रहेको स्रोत बताउंछ । जोशी हाल विभागको २ नम्बर प्रदेशको प्रमुख छन् । उनले यसअघि दिल्लीस्थित नेपाली दूतावासमा समेत काउन्सिलरको रुपमा काम गरेका थिए ।

एआईजी बढुवाका लागि अर्का मुख्य प्रतिस्पर्धी हाल सुर्खेतमा रहेका डीआईजी टेकेन्द्र कार्की हुन् । जुम्ला घर भएका डीआईजी कार्की र जोशीको बीचमा अहिले कडा प्रतिस्पर्धा भएको स्रोत बताउंछ । कार्की र जोशी दुवै डेमोक्रयाट हुन् ।

गूप्तचर विभागमा माओवादीसंग निकट सम्बन्ध रहेको भनेर चिनिएका डीआईजी हुतराज थापा पनि बढुवाका लागि तिव्र लविङमा छन् । उनि सके अहिले नै एआईजी हुने नसके दरबन्दी सिर्जना गरेर दुवै एआईजीको बढुवा एकै पटक गराउने खेलमा छन् । यसपटक थापा एआईजीमा बढुवा नभए उनि आगामी भदौमा अवकासमा जांदैछन् ।

गूप्चतरमा अहिलेसम्म आईजीपी खरेललाई एआईजीको प्रक्रिया अघि बढाउन ग्रिन सिंग्नल नआएको स्रोत बताउंछ । प्रधानमन्त्री कार्यालयले एआईजीको बढुवा प्रक्रिया अघि बढाउने भएपनि अहिलेसम्म कुनै छलफल नभएको बताइन्छ । प्रतिस्पर्धी डिआईजीहरु सत्तारुढ दलका नेताहरुको घर घर तिर दौडेपनि बालुवाटारले बढुवामा चांसो नदिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement