काठमाण्डु– देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय मातहत रहेको विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएका हुन् ।
बुधबार पारित भएको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत राखिएको हो।विभागका अधिकारीहरूले गुप्तचर संस्था संसारभर नै प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने भन्दै नेपालमा पनि त्यही व्यवस्था लागू हुनुपर्ने लबिङ गर्दै आएका थिए ।
प्रधानमन्त्री शाह प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने प्रयासमा छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गृह मन्त्रालय मातहत रहेको विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए । २०७४ मा तत्कालीन नेकपा सरकारका बेला गुप्तचर विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइएपछि त्यसको चर्को आलोचना भएको थियो ।
पछि तत्कालिन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गुप्तचरसहित ती तीनै विभागलाई पुनः सम्बन्धित मन्त्रालय मातहत फर्काएको थियो । अहिले कार्यविभाजन हेरफेर गर्ने क्रममा प्रधानमन्त्री शाहले गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालयमा तानेका हुन् ।







प्रतिक्रिया