प्रहरी र गूप्तचरका प्रमुखलाई हटाउने सरकारको अन्तिम तयारी


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याललाई हटाएर एआईजी जयबहादुर चन्दलाई आईजिपी बनाउने विषयमा छलफल सुरु भएको छ । त्यसका लागी दुई पार्टीका नेताबीच पटक–पटक छलफल भइसकेको छ ।

 

 

त्यसैगरी गुप्तचरका प्रमुख दिलिप रेग्मीलाई पनि हटाउने तयारी सरकारले गरेको छ । उनलाई हटाएर वरियतामा एक नम्बरमा रहेका एआईजी गणेश अधिकारीलाई गुप्तचरको प्रमुख बनाउने सहमती सत्तारुढ दलका दुई शिर्ष नेताबीच भएको छ ।

 

रेग्मीमाथी तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई नेता,कर्मचारी र पत्रकारहरुको व्यक्तिगत बिवरण वुझाएको आरोप छ । त्यसैगरी रेग्मीको कार्यक्षमता समेत कमजोर भएको भन्दै गृहमन्त्री जनार्दन शर्मा समेत उनिसंग असन्तुष्ट छन् । शर्माले गुप्तचर प्रमुख रेग्मीलाई कार्यशैली सुधार गर्न मौखिक चेतावनी समेत दिइसकेका छन् ।

 

 

उच्च स्रोतले दिएको जानकारीअनुसार देउवा एआईजी चन्दलाई महानिरीक्षक बनाउन कम्मर कसेर लागेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री जनार्दन शर्मा समेत अर्याललाई हटाउनेमा सहमत भइसकेको स्रोतको दाबी छ ।  राजिनामा दिएर मार्ग प्रशस्त गर्न देउवाले महानिरीक्षक अर्याललाई सन्देश पठाइसकेका छन् ।

 

 

प्रधानमन्त्री देउवा जसरी पनि चन्दलाई महानिरीक्षक बनाउने अडानमा छन् ।  उनले त्यसका लागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री शर्मालाई समेत मनाइसकेका छन् । महानिरीक्षकलाई हटाउने विषयमा सोमबार विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री जनार्दन शर्माबीच पनि प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको छ ।

 

 

  गुप्तचर र प्रहरी प्रमुखलाई सोमबारकै मन्त्रिपरीषदको बैठकमा हटाउने कि प्रधानमन्त्री न्युयोर्कबाट फर्केपछि हटाउने भन्नेबारेमा भने टुंगो लागेको छैन् ।

 

 

माओवादी अध्यक्ष प्रचण्डसहितको आइतबार बालुवाटारमा बसेको बैठकमा अर्याललाई समेत बोलाइएको थियो । देउवाले उनलाई राजिनामा दिन सुझाव दिएका थिए । तर,अर्यालले कुनै प्रतिक्रिया भने दिएका छैनन् । स्रोतकाअनुसार देउवाले अर्याललाई राजनीतिक नियुक्ती दिने आश्वासन दिएका छन् । राजिनामा नदिए मन्त्रिपरिषदको बैठकबाटै उनलाई हटाएर आफ्नो सुरक्षा सल्लाहकारमा सरुवा गर्ने तयारी देउवाले गरेका छन् ।

 

३० वर्षे उमेर हद नहटेको खण्डमा आईजीपी अर्यालसहित हालका एआईजी चन्द आगामी चैत २९ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउदैछन् । देउवाले उनलाई ६ महिनाका लागी भए पनि आईजिपी बनाउन चाहेका छन् । प्रहरीको आयुक्त कार्यालय रानीपोखरीमा कार्यरत एआईजी चन्द वरियतामा दोस्रो नम्बरमा छन् । बरियतामा एक नम्बरमा एआईजी बमबहादुर भण्डारी रहेका छन् ।

 

यसअघि तेस्रो नम्बरमा रहेका तत्कालिन डीआईजी चन्दलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले आईजीपी नियुक्त गरेको थियो । चन्दलाई आईजीपी नियुक्त गरिएपछि सर्वोच्च अदालतले सरकारलाई सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएपछि उनको नियुक्ती बदर भएको थियो ।

 

 

वरियतामा एक नम्बरमा रहेका डिआईजी नवराज सिलवाललाई आईजिपी बनाउने अपेक्षा गरिएपनि तत्कालिन सरकारले फागुनमा प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको थियो । तत्कालीन डीआईजी नवराज सिलवालले आफू वरीयताको पहिलो नम्बरमा रहेको भन्दै अर्याललाई आईजीपी नबनाउन मागसहित सर्वोच्चमा रिट हालेका थिए । सो रिट भदौ २७ गते सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

 

सिलवालले डीआईजीबाटै राजीनामा दिएका छन् । उनको राजीनामा प्रहरी प्रधान कार्यालयले अझै स्वीकृत गरेको छैन । उनि एमाले प्रवेश गर्ने तयारीमा छन्  ।

प्रतिक्रिया दिनुहोस
Advertisement