निहारिकाको छोरा र आरोपी शिवराजको डीएनए टेस्ट गराउन अदालतको आदेश


काठमाण्डु – उच्च अदालत जनकपुरले निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ ।

‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिका प्रकरणमा सरकारी वकिलको माग बमोजिम बुधबार उच्च अदालत जनकपुरका न्यायधीसद्वय रेखा थापा पाण्डे र भोजराज अधिकारीको इजलासले सो आदेश दिएको हो ।

निहारिकाले शिवराजबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी गर्दै १७ दिन आमरण अनशन बसेकी थिइन् । आफ्नो बच्चा र आरोपीको डीएनए म्याच गराउनुपर्ने उनको मुख्य माग थियो । सरकारका तर्फबाट कानूनमन्त्री गोबिन्द बन्दीले उनको माग पूरा गराउने आश्वासनसहित अनसन तोडाएका थिए ।

कानूनमन्त्रीले निहारिकासँग गरेको प्रतिवद्धता उच्च अदालतले पुरा गरिदिएको हो । उच्च सरकारी वकिलको कार्यालय जनकपुरमार्फत निहारिकाको छोरा र आरोपी श्रेष्ठलाई विधिविज्ञान प्रयोगशाला जनकपुर पठाएर निहारिकाकै रोहबरमा डीएनए नमूना लिन अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement