निलाम्बर आचार्य राजदूतमा नियुक्त, राष्ट्रपतिबाट खाए शपथ


काठमाडौं– निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन्।
आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराइन्।

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका हुन्। नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो । राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन्।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई भारतको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement