कोरोना कालमा ल्याव टेक्निसियन निमाका अनुभव


कोरोना महामारीको विषम परिस्थितिमा पनि स्वास्थ्यकर्मीहरु आफ्नो कर्तव्यलाई जिम्मेवारीका साथ बहन गर्दै बिरामीहरुको सेवामा अहोरात्र खटिरहेका छन् । कोरोना सङ्क्रमणको पहिलो लहर साम्य नहुँदै नेपालमा दोस्रो लहर आइपुग्यो । स्वास्थ्यकर्मीहरु दिनरात नभनि संक्रमितको सेवामा लागिरहेका छन् । स्वास्थ्यकर्मीमध्ये प्रयोगशालाकर्मीहरु (ल्याब टेक्निसियन)को भुमिका निकै महत्वपूर्ण हुन्छ । स्वाव संकलन देखी ल्यावमा रिर्पोट निकाल्ने सम्मको जिम्मेवारी दिइएको हुन्छ ।

ठुलाठुला अस्पतालमा ल्याबमा मात्र काम गर्ने भएपनि जनशक्ति अभावका कारण कतिपय अस्पतालमा ल्याव टेक्निसियनहरु पनि विरामीको सेवामा खटिएको देखिन्छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका अन्तर्गत समुन्द्रटार स्वाथ्य चौकीमा पाँचौ तहमा कार्यरत निमा लामा पनि आफ्नो जिम्मेवारी पूरा गर्न दिनरात खटिएकी छन् ।

कोरोना भाइरसको पहिलो लहर देखिनै उनी संक्रमण पहिचान गर्न र जनचेतना जगाउन सक्रिय भइन् । संक्रमित पत्ता लगाउन स्वाव संकलन गर्ने देखी सर्वसाधारणलाई कोरोनाबाट जोगिने उपाय सिकाउन उनीसंगै अन्य स्वास्थ्यकर्मीहरु मिहिनेत गरिरहेका छन् । प्रस्तुत छ यसै विषयमा केन्द्रीत रहेर ल्याव टेक्निसियन लामासँग काठमाण्डुपाटीका लागि यशोदा भुजेलले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना कहरमा काम गर्दाको अनुभव कस्तो छ ?

सुरुवातमा त निकै डर नै थियो कोरोनाबारे कुनै अध्ययन भएको थिएन । सबैका लागि नौलो थियो । समाचारहरु पनि भ्रामक आईरहेका थिए ।अवस्था यस्तो थियो की संक्रमितलाई छुन त के हेर्दा पनि मरिन्छ भन्ने थियो । तर त्रासका बावजुद पनि हामीलाई दिइएको जिम्मेवारी पुरा गर्नु नै थियो । सुरुवातमा डर लागेपनि विस्तारै हामी अनुभवी हुँदै गयौं डर पनि बिस्तारै हट्दै गयो । सुरुवात देखी नै काम गर्दै आएकी छु । कहिलेकाँही लाग्छ यस्तो अफ्ठ्यारो परिस्थितिमा राष्ट्रको सेवा गर्ने मौका पाएँ भनेर गर्व महसुस हुन्छ ।

पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि भइरहेका दुर्व्यवहारबाट कस्तो महसुस हुन्छ ?

मैले अहिलेसम्म दुर्व्यवहार भोग्नुपरेको छैन तर ठाउँठाउँमा भएका घटना सुन्दा निकै दुःख लाग्छ । कुनै पनि स्वास्थ्यकर्मीको चाहना विरामीलाई निको बनाएर घर फर्काउनु हुन्छ । तर, कतिपय अवस्थामा विविध कारणले गर्दा बिरामीको ज्यान जाने गर्छ । विरामीको मृत्युले सबैभन्दा पहिला उसको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मन रुन्छ । तर, हामी मन दह्रो बनाएर फेरी अर्को बिरामीको उपचारमा खटिनुपर्ने हुन्छ ।

यस्तो अवस्थामा स्वास्थ्यकर्मीमाथी नै आक्रमण हुनु निन्दनिय छ । कहिलेकाँही बिरामी ढिला अस्पताल पुर्याउँदा समेत ज्यान जाने गरेको छ कतिपय अवस्थामा स्रोत र साधन अपुग भएकाले मुत्यु हुन्छ तर, स्वास्थ्यकर्मीले अन्तिम अवस्थासम्म पनि बिरामीलाई बचाउने नै प्रयत्न गरेका हुन्छन् । अझ यस्तो बिषम परिस्थितिमा घरपरिवार छाडेर सेवा गर्न बसेका स्वास्थ्यकर्मीमाथी सम्मान गर्नुको साटो उल्टो आक्रमण गर्नु दुःखद छ ।

कोभिड–१९ संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा ल्याब टेक्निसियनको मनोबल उच्च पार्न सरकारले के कस्ता कार्यहरु गर्नुपर्ला ?

स्वास्थ्यकर्मीको मनोवल उच्च पार्न सरकारले उनीहरुले गरेको कामको उचित मूल्यांकन गर्नुपर्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा सरकारले आफ्नो तर्फबाट सकेजति त गरिरहेको छ । तर, हामीले यो गर त्यो गर, हामीलाई यो वा त्यो हुनुपर्छ भनेपनि गर्नसक्ने अवस्था पनि छैन । तर, यस्तो अवस्थामा सकेसम्म हामीलाई निराशा पार्ने काम चाहीँ नगरिदिएहुन्थ्यो । जे हामीले गरिरहेका छौं, त्यो कामलाई सम्मान चाहीँ गर्नुपर्छ । आवश्यक सुरक्षाका साधन साथै शतप्रतिशत जोखिमभत्ताको व्यवस्था गरिनुपर्छ ।

दुप्चेश्वर गाउँपालिकामा कोरोना भाइरस संक्रमितको पछिल्लो अवस्था के छ ?

दुप्चेश्वर गाउँपालिकामा कोरोनाको पछिल्लो अवस्था भन्नुपर्दा कोभिड–१९ को केश एकदमै बढ्दै गइरहेको छ । त्यस्तै पीसीआरसँगै एन्टिजेन परीक्षणको दायरा पनि बढाईएको छ । कोरोनाको दोस्रो लहर सुरु भएदेखि २ सय १७ जनाको परीक्षण गरिएको छ । त्यसमध्ये १४४ जनाको पीसीआर परीक्षण गरिएको छ भने बाँकी ७३ जनाको एन्टिजेन परीक्षण गरिएको छ । स्थानीय तहले हाम्रो गाउँपालिकामा २० बेडको आइसोलसन तयार पारेको छ । त्यसमा पनि हाम्रो गाउँपालिकाले यहि जेठ १८ गतेदेखि साविकको ७ वटै वडामा पीसीआर र एन्टिजेन टेस्ट क्याम्प सञ्चालन गरिहरेको छ ।

तपाईको गाउँपालिकामा कोरोनाबाट कुन उमेर समूहका मानिसहरु बढी प्रभावित भएका छन् ?

यो दोस्रो लहरको कोरोनाबाट २० देखि ६० वर्षसम्मका व्यक्तिहरु बढी प्रभावित भएका छन् । हामीले परीक्षण गरेकामध्ये युवा समूहका व्यक्तिहरु बढी प्रभावित भएका छन् ।

कोरोना परीक्षणको लागि आवश्यक श्रोत साधन पर्याप्त मात्रामा उपलब्ध छ कि छैन ?

कोरोना परीक्षणको स्रोत र साधन पर्याप्त छ त भन्न मिल्दैन तर, आवश्यक अनुसार पुगिरहेको छ । ल्याबमा कोभिड परीक्षणको लागि आवश्यक अन्य सामग्री जिल्ला तथा स्थानीय स्तरबाट खरिद गरेर ल्याउने क्रम जारी छ ।

तपाईले कोरोना भाइरसको संक्रमणबाट जोगिन कस्तो सावधानी अपनाइरहनु भएको छ ?

कोभिडबाट बच्न मैले काम गर्नुअघि र काम गरिसकेपछि साबुन पानीले ३० सेकेण्ड हात धुने गरेको छु । प्रत्येक व्यक्तिको स्वाव संकलन गरेपछि स्यानिटनइज गर्ने गरेको छु ।

विशेषगरी स्वाब संकलन गर्न जाँदा लगाएका कपडाहरु धुने, पिपिई, फेस शिल्ड, गगल्स, मास्क, पञ्जा, बुट लगायत सामग्रीलाई डिसइन्फेक्टेड गर्ने, नुहाउने, साबुनपानीले हात धुने, समाजिक दूरी कायम गर्ने, घरपरिवारसँग नजिकै सम्पर्कमा नआउने गरिरहेको छु ।

अन्त्यमा केही थप्न चाहनुहुन्छ की ?

पहिलो लहरको कोरोना भन्दा यो लहरको कोरोना संक्रमण जटिल प्रकारको र तीब्र गतिमा फैलिइरहेकाले यो परिस्थितिमा आफू कसरी बच्ने भन्ने तिर ध्यान दिन आग्रह गर्छु । हाम्रो जिवन हामीलाई अमूल्य छ, हामी आफू नै सचेत होऔं । सरकारले जारी गरेको जनस्वास्थ्यका नियमहरुलाई पालना गरौं ।

सामाजिक दुरी कायम गरौं, जुठो खानेकुराहरु नखाऔं, मास्क लगाऔं, खानेकुराहरुमा विशेष ध्यान दिने गरौं । स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले अनिवार्य हात धुने गर्नुपर्छ । कोरोनाँग मिल्दोजुल्दो लक्षण देखिएमा नडराईकन स्वास्थ्य संस्थामा गई परामर्श लिई कोभिड परीक्षण गराऔं । आफ्नो घर, टोल र समाजलाई कोरोनामुक्त बनाऔं ।

प्रतिक्रिया दिनुहोस
Advertisement