काठमाण्डु – पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन भएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)को अन्त्येष्टि बुधबार हुँदैछ । अन्त्येष्टि बेलायतको डोर्सेटमा गरिँदै छ। अन्त्येष्टि समारोहमा परिवारका सदस्य तथा निकट आफन्त मात्र सहभागी हुनेछन्।
निम्सका दाइ कमलबहादुर पुर्जाले जारी गरेको विज्ञप्तिमा अन्त्येष्टि स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था, परिवारको गोपनीयता तथा प्रतिकूल मौसमलाई ध्यानमा राख्दै समारोहमा ठुलो संख्यामा सहभागी गराउन नसकिने बताएका छन्।
यसअघि नाम दर्ता गराएका व्यक्तिहरूलाई मात्र अन्त्येष्टि समारोहमा सहभागी हुन अनुमति दिइने विज्ञप्तिमा उल्लेख छ । साथै, ज्येष्ठ नागरिक तथा साना बालबालिकालाई समारोहमा उपस्थित नहुन परिवारले आग्रह गरेको छ।
अन्त्येष्टि समारोह सम्पन्न भएपछि निर्मल पुर्जाप्रति सार्वजनिक रूपमा श्रद्धाञ्जली अर्पण गर्न छुट्टै कार्यक्रम आयोजना गरिने छ।
उक्त कार्यक्रममार्फत उनका सहकर्मी, शुभेच्छुक, नेपाली समुदाय तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत जुलाई ३० मा भएको दुर्घटनामा पुर्जासहित ६ जना नेपालीको निधन भएको थियो।




प्रतिक्रिया