निर्मला पन्तका बुवालाई बेहोस बनाएर काठमाडौं ल्याइँदै


काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौँ लगिएको छ। छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना बसेका निर्मलाका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याउन लागिएको हो

आइतबार बिहान बेहोस बनाएर उनलाई काठमाडौं ल्याउन लागिएको निर्मलाकी आमा दुर्गादेवी पन्तले जानकारी दिइन्। उनका अनुसार यज्ञराजले होस गुमाएर धेरै बोल्नेरहिँड्ने गर्न थालेपछि शनिबार दिउँसो सेती अञ्चल अस्पताल लगेर बेहोस बनाउने इन्जेक्सन दिइएको थियो।

‘हिजै जहाजमार्फत् काठमाडौं जाने टिकट लिएका थियौं। मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई जहाजले ल्याउन नमानेपछि आज एम्बुलेन्सबाट काठमाडौं लैजाँदै छौं,’ दुर्गादेवीले भनिन्। उनलाई त्रिवि शिक्षण अस्पताल लैजाने उनले जानकारी दिइन्। छोरीका हत्यारा पत्ता लगाउन र आफूहरूलाई न्याय दिन माग गर्दै कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयअघि निर्मलाका परिवारै धर्नामा बसेका छन् ।

उनी नियन्त्रणबाहिर जान थालेपछि उपचारका लागि काठमाडौं लैजान लागिएको हो। निर्मला गत साउन १० गते साथीको घरमा होमवर्क गर्न भन्दै गएकी थिइन्। उनी फर्केर आइनन्। खोजी गर्दागर्दै भोलिपल्ट उल्टाखाम भन्ने ठाउँको उखुबारीमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement