निर्मलाका हत्यारा पत्ता लगाउन माग : राष्ट्र संघमा बुझाए विद्यार्थीले संकलित हस्ताक्षर


काठमाडौं – पांच महिना बित्न लाग्दा समेत सरकारले कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका छन् ।

यसअघि उनीहरूले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान गर्दै हस्ताक्षर अभियान संकलन गरेका थिए। निर्मला पन्तलाई न्याय दिन अन्तर्रा्ष्ट्रिय समुदायलाई पहल गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाउनु परेको विद्यार्थीहरूले बताएका छन्। ‘निर्मलाको न्यायको निम्ति अभियान’मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले बलात्कार लगायतका महिला हिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आह्वान गरेका छन्।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार सफल नभएपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले सो हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै विगत एक हप्तायता संकलन गरिएको हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement