निर्मला पन्त हत्याको एक वर्ष : न न्याय, न अब आस !


कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज एक वर्ष पुगेको छ ।

वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको बताइए पनि उनले न्याय पाउन भने सकेकी छैनन् ।

‘वर्ष दिनसम्म न हत्यारा पत्ता लाग्यो न अब न्याय पाउने आस नै छ,’ पन्त परिवारको यो बिलौना निर्मलालाई गुमाउँदा जस्तो थियो अहिले पनि उस्तै छ ।

निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्या भएको एक वर्ष बितिसक्दा पनि दोषी पत्ता नलाग्दा आफुहरुले आशा मारिसेकको बताइन् । उनले भनिन्, ‘एक वर्ष बितिसक्यो, न न्याय पाइयो, न अब आस नै छ ।

आफु जताबाट पनि पिडामा रहको बताउँदै दुर्गादेवीले निर्मलाको हत्याको घाउ अझै विसेक नभएको बताइन् ।

निर्मलाको बलात्कारपछि हत्याको अभियोगमा प्रहरीले सुरुमै सार्वजनिक गरेका भीमदत्त–१९ का दिलीपसिंह विष्टप्रति अझै आफूलाई शंका लाग्ने गरेको दुर्गादेवीले बताइन्  । उनले भनिन्, ‘उनको बयान र घटनाक्रम धेरै मिलेको छ, मलाई ऊप्रति शंका छ ।,

१० साउन २०७५ मा साथीको घर जान भन्दै घरबाट हिडेकी निर्मलाको ११ गते बिहान घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

यसबीचमा हत्यारा पत्ता लगाउन सरकारबाट भएका हालसम्मका सबै प्रयास खेर गएको छ । तर, पनि सरकारले ढिलोचाँडो हत्यारालाई कानुनी कठघरामा ल्याउने दाबी गर्न भने छाडेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement