निर्मला हत्याकाण्डः प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं लगियो


काठमाडौं – निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा कञ्चनपुरका बिशाल चौधरीलाई यातना दिएको भन्दै उनका बुवा विरबहादुरले राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी दिएका छन्।

यातना दिएको बारे आवश्यक छानविन गरी कारवाहीका लागि सिफारिस गरिपाउँ भन्दै उजुरी दिएको बुवा विरबहादुरले बताए। उजुरीमा जिल्ला प्रहरी कार्यालयमा शारीरिक र मानसिक यातना दिएर अपराध कबुल गर्न लगाएको र काठमाडौंमा पनि बयानमा आफुले भनेको कुरा नै भन्नु भनेर यातना दिएको कुरा उल्लेख छ।

‘निर्मलाको हत्या मैले नै गरेको हुँ भन्नु भनेर हतकडी लगाई आँखामा कालोपट्टी बाँधेर कुटपीट गरेको, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र काठमाडौंमा समेत यातना दिएको हुँदा कार्यालय प्रमुखलाई बुझी अनुसन्धान गरिपाउँ।’ उजुरीमा भनिएको छ। निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीको लामो छानविनपछि छुटेका बिशाल चौधरीलाई उपचारका लागि राजधानी काठमाडौं लगिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले दिएको यातनाले चौधरीमा डराउने, बर्बराउने र राती सुत्न नसक्ने समस्या देखिन थालेपछि उपचारका लागि सोमवार उनलाई काठमाडौँ लगिएको हो।

अनुसन्धानका क्रममा हत्या कबुल गर्न बिशाललाई निकै यातना दिएको छोराले सुनाएको उनका बुवा विरबहादुरले बताए। यातनाका साथै भित्र भएका कुरा बाहिर भने ठिक हुँदैन भनेर धम्की समेत दिएको पनि उनले बताए। उता प्रहरीले भने विशाललाई यातना नदिएको दाबी गरेको छ। कञ्चनपुरका डिएसपी कृष्णराज ओझा सोधपुछका लागि मात्र बिशाललाई अभिभावकसहित काठमाडौं पठाएको तर उनलाई यहाँ कुनै यातना दिने काम नभएको जिकिर गर्छन्। उनले भने, ‘हामीले माथिबाट बोलाइपछि उनलाई पठाएका हौँ, यहाँ उसलाई यातना दिने कुनै काम भएको छैन, माथी के भयो हामीलाई त्यसको जानकारी भएन।’

भीमदत्त नगरपालिका–१८ का १६ वर्षीय चौधरीलाई घटनामा शंकास्पद भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएर १८ दिनको लामो सोधपुछ गरेपनि कुनै ठोस प्रमाण फेला नपारेपछि छाडेको थियो। उनका सहकर्मी दिनेश भने यसअघि नै छुटेका थिए। तर काठमाडौँबाट पक्राउ परेका प्रदिप अहिलेसम्म पनि छुटेका छैनन्।

प्रतिक्रिया दिनुहोस
Advertisement