भागरथी हत्या प्रकरणमा चनाखो भएर अनुसन्धान गर्दा सफल भयाैं: डीआईजी सुवेदी


सत्यराज सिंह \बझाङ – सुदुरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको बताएका छन ।

मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरोकारवालाहरु संगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै डीआईजी सुवेदीले हालसम्मको तथ्याङकलाई हेर्दा ८० प्रतिशत अपराधिक घटना आफन्तबाटै भएको बताएका हुन् ।

अपराधमा बढी जसो बालबालिका संलग्न हुने गरेको भन्दै सुवेदीले बालबालिकाहरुमा नैतिक शिक्षाको अभाव भएका कारण पनि समाजमा अपराधिक क्रियाकलाप हुने गरेको बताए ।

पछिल्लो समयमा सामाजिक संजाल र प्रविधिको अधिकतम प्रयोगले किशोरकिशोरीहरु अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाईएको छ। उनले भने, सहर र गाउँमा फरक परिस्थिति छ, तर समस्या एउटै छ ।

परिवारका सबै मानिसहरु मोबाइलमै व्यस्त भएका कारण एक–अर्कासँग बोल्ने फुर्सद हुँदैन । यता गाउँमा पनि पुरुषहरु आयआर्जनका लागी घर बाहिर हुने र महिलाहरु घरकै काममा व्यस्त हुने भएका कारण बालबालिकाहरुले सही अभिभावकत्व पाउन सकेका छैनन् ।

अभिभावकहरु संग आफ्नो सन्तानलाई नैतिक शिक्षा दिने र सहि मार्गनिर्देश गर्ने समय छैन । बालबालिकाहरुमाथी अभिभावकको निगरानी नहुँदा उनीहरु कलिलो उमेरमै अपराधको जालोमा फस्दै गएका छन । यस्ता अपराधिक क्रियाकलापमा सबै भन्दा बढी १६ बर्ष देखि २५ बर्ष उमेर समुहका बालबालिकाहरु रहेका छन ।

फरक प्रसंगमा बोल्दै डीआईजी सुवेदीले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आफुले अर्जुन दृष्टिले हेरिरहेको बताए । कुनैपनि अपराधको बारेमा जानकार हुने भनेकै घटनास्थल वरपर वा समुदायकै मानिसहरु हुन ।

प्रहरीले सो घटनालाई गहिरो ढंगले अध्ययन गरिरहेको छ । उनले भने हामी लगभग अनुसन्धानको अन्तिम चरणमा पुगिसकेका छौ । पहिले केहि अराजक तवरले घटना तोडमोड गर्ने क्रियाकलाप भए । प्रहरी पनि बाहिरि हल्लाको पछि लागेर अनुसन्धान गर्दा अनुसन्धान कार्य प्रभावित भएकोले पत्ता लाग्न नसकेको हो । निर्मला पन्त हत्याकाण्डले ठुलो पाठ सिकाउदा बैतडीकी भागरथी हत्या प्रकरणमा प्रहरीले चनाखो भएर अनुसन्धान गर्दा सफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement