निर्मला हत्या प्रकरण : अनुसन्धानमा लापरबाही गर्ने आठ प्रहरीविरूद्ध आमाले दिइन् जाहेरी


काठमाडौं – कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धानमा संलग्न आठ प्रहरी अधिकारीविरूद्ध जाहेरी परेको छ। तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरूद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मंगलबार जाहेरी दिएको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए।

आफ्नी छोरीको बलात्कारपछी हत्या घटनामाथि अनुसन्धानमा संलग्न आठ प्रहरी कर्मचारीलाई कानुन बमोजिम सजाय दिलाउन भन्दै मुद्दा निर्मलाकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन्। जाहेरी दर्ता भएको कडायतले बताए।

मंगलबार नै तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख विष्टसहित चार जना प्रहरी अधिकृतविरूद्ध भीमदत्तनगरपालिका–१९ बागफाँटाका खड्कसिंह विष्टले भाइ दिलीपसिंहलाई यातना दिएको भन्दै मुद्दा दायर गरेको प्रहरीले जनाएको छ।

तत्कालीन प्रहरी प्रमुख विष्टले गत भदौको पहिलो खड्कसिंह विष्टका भाइ दिलीपसिंह विष्टलाई निर्मलाको हत्यामा संलग्न भन्दै सार्वजनिक गरेका थिए। तर आरोपित विष्टको डिएनए नमिलेपछि साधारण तारेखमा रिहा भएका थिए। खड्कले तत्कालीन प्रहरी प्रमुख विष्ट, प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी, अङ्गुर जिसी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टविरूद्ध मुद्दा दायर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement