निर्मला हत्या प्रकरण : एसपी विष्टलाई बर्खास्त प्रहरी मुख्यालयले पठायो गृहमन्त्रालयमा पत्र


काठमाडौं – कन्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको आरोप खेप्दै आएका तत्कालीन कन्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

बर्खास्त गर्नु अघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्त अनुसार उनीहरुलाई उक्त प्रकरणमा किन कारबाही नगर्ने भनि स्पष्टिकरण सोध्न लागिएको हो। उनीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएमा सरकारले पुनः जवाफ माग्ने वा बर्खास्त गर्न कारबाही प्रक्रिया अघि बढाउने भएकाे छ।

गृहस्रोतका अनुसार सम्भवतः आइतबार (आजै) गृहसचिवस्तरीय निर्णयबाट उनीहरुलाई वर्खास्त गर्ने प्रक्रिया सुरू हुनेछ । प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुने व्यवस्था छ । छानविन समितिका संयोजक एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित अनुसन्धान टोलीले एसपी विष्टसहित इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सुझाव दिएपछि प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र पठाएको हो ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो। आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाउन लागेको हो ।

निर्मला हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तका रुपमा भीमदत्तनगर १९ का दिलिपसिहं विष्टलाई सार्वजनिक गरेपछि उनको डीएनए म्याच नभएपछि उनी साधारण तारेखमा रिहा भएका थिए । दिलिपलाई मुख्य नक्कली अभियुक्तको रुपमा सार्वजनिक गर्ने सीआईबीका डीएसपी अंगुर जिसीको पनि प्रमुख भूमिका थियो । जिसीसहित ६ जना प्रहरी हाल निलम्बनमा परेका छन् ।

घटनास्थलको सुरक्षा नगरेको एवम् प्रमाणहरू नस्ट गरेको आरोप लाग्दै आएको र उनीमाथि अनुसन्धान र कारबाही नभएको भन्दै सरकारको समेत आलोचना भएपछि कारबाही प्रक्रिया थालिएको हो। गृह मन्त्रालयका सहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले पनि निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही र हेलचक्र्याइँ गरेको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement