काठमाण्डु– नेपाली कांग्रेसका सचेतक एवम् सांसद निश्कल राईले सरकारले चिया क्षेत्रलाई वास्ता नगरेको आरोप लगाएका छन् ।
बुधबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात गरेर अर्थतन्त्रमा ठुलो योगदान दिएको क्षेत्रलाई सरकारले वास्ता नगरेको बताएका हुन् ।
भारतले चिया निर्यातमा नयाँ झन्झटिलो मापदण्ड तेर्स्याउँदा इलामका चिया उद्योगी र किसान मारमा परेको उनको भनाइ छ । गुणस्तर परीक्षणको नाममा भारतले लगाएको नयाँ प्रावधानका कारण इलामका ८३ वटा चिया कारखाना तीन दिनदेखि ठप्प भएको राईले बताए ।
राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई चिया पिउन समय निकाल्ने तर चिया उद्योग र किसानको समस्या समाधान गर्न फुर्सद नलिकाल्ने आरोप समेत लगाएका छन् ।
उनले भने ‘मैले योसँग सातौँ पल्ट भयो कुरा उठाएको। प्रधानमन्त्री मन्त्रीहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको प्रधानमन्त्रीज्यू दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त हुनुहुन्छ। सामाजिक सञ्जालमा उहाँ चिया पसलमा गएर चिया पिएको देखिनुहुन्छ, तर चिया उद्योग र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएन।’
उद्योग बन्द हुँदा किसानले टिपेको हरियो चियापत्ती खेर गइरहेको, मजदुरको रोजगारी गुमेको र उद्यमीहरूले बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्था सृजना भएको राईले बताए ।
यस्तै सांसद राईले तत्काल समस्या समाधानका लागि चिया निर्यात खुलाउन तत्काल जीटुजीको पहल गर्न , नेपालमै चिया परीक्षण ल्याब निर्माणको प्रक्रिया अघि बढाउन र तेस्रो देशमा चियाको बजार सुनिश्चित गरेर निर्यातको नयाँ बाटो खोल्न पनि माग गरे ।




प्रतिक्रिया