काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् नितिमा भण्डारी कार्कीले सर्लाहीमा दिनप्रतिदिन शान्ति सुरक्षा कमजोर बन्दै गएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिरहामा गोली चल्नु र कुटपिट हुनु सामान्य जस्तै भइसकेको बताइन् ।
पछिल्लोपटक बुधबार साँझ लालबन्दी–७ बाट ९ तिर जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले लुटपाट गरेको बताइन् ।
प्रहरी चौकीको नजिकै भएको उक्त घटनामा लुटेरा समूहले चार राउण्ड गोली चलाएको उनको भनाइ थियो ।
कार्कीले ईश्वरपुर– ३ मा रामनरेश साहकी श्रीमतीलाई पूर्वमेयरका श्रीमानले निर्घात कुटपिट गरेको भन्दै दोषीमाथि कारबाही माग गरिन् ।
‘ल एण्ड अर्डर’ को सर्लाहीमा धज्जी उडाइएको छ । गोली चल्नु, कुटपिट हुने अहिलेका लागि सामान्य घटना भइसकेको अवस्था छ’, उनले भनिन्, ‘ शान्ति सुरक्षा कायम गर्नु राज्यको पहिलो दायित्व हो र म गृहमन्त्री सँग यो प्रश्न सोध्न चाहन्छु कि पटकपटक यस्ता घटना हुँदा उहाँले के कारबाही गरिरहनुभएको छ भनेर । यस विषयमा म उहाँको ध्यानाकर्षण गराउन चाहन्छु ।’
अपराध गर्ने जो कोही पनि कारबाहीको दायरामा ल्याउन जरुरी रहेको भन्दै दोषीलाई तत्काल फत्राउ गरी कारबाही गर्न र नागरिकले सुरक्षित बाँच्न पाउने वातावरण बनाउन कार्कीले माग गरिन् ।




प्रतिक्रिया