काठमाण्डु-यस वर्षको नोबेल पुरस्कार चिकित्सातर्फ अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । ‘माइक्रोआरएनए’ को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकासम्बन्धी खोजका लागि एम्ब्रोस र रुभकुनलाई पुरस्कृत गर्ने निर्णय गरिएको कमिटीले जनाएको छ ।
घोषित पुरस्कार चिकित्साशास्त्रमा प्रदान गरिने ११५ औं नोबेल पुरस्कार हो । चिकित्सातर्फ हालसम्मका २ सय २९ विजेतामध्ये १३ जना मात्रै महिला छन् । गत वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार कोभिड–१९ को फैलावट रोक्ने एमआरएनए खोपमा काम गरेका कटालिन कारीको र ड्रियु वेइसम्यानलाई प्रदान गरिएको थियो ।
त्यस्तै, भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार यस वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । नोबेल कमिटीले मंगलबार विजेताको नाम घोषणा गर्दै आर्टिफिसियल न्युरल नेटवर्कमार्फत मेसिन लर्निङलाई सक्षम बनाउनेतर्फ आधारभूत खोज तथा आविष्कार गरेकाले अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती–क्यानडेली कम्प्युटर वैज्ञानिक जियोफ्री ई हिन्टनलाई पुरस्कार दिने निर्णय गरिएको जनाएको हो ।
७६ वर्षीय हिन्टन क्यानडाको टोरन्टो विश्वविद्यालयका प्राध्यापक हुन् । उनले एआई विषयमा विद्यावारिधि गरेका छन् । उनी ‘एआईको गडफादर’ का रूपमा पनि चिनिन्छन् ।
प्राध्यापक जोन होपफिल्डले विभिन्न ढाँचाहरू परिवर्तन गर्ने र सुरक्षित राख्ने नेटवर्कको आविष्कार गरेका हुन् ।
गत वर्ष यो पुरस्कार ‘सूक्ष्म कालखण्ड’ पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन जना भौतिकशास्त्रीले प्राप्त गरेका थिए । सन् १९०१ यता भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार १ सय १७ पटक घोषणा गरिसकिएको छ । यो विधाको नोबेल पुरस्कार हालसम्म २ सय २४ जनाले प्राप्त गरिसकेका छन् । तीमध्ये जोन बार्डिनले दुई पटक पाएका छन् ।
स्वीडिस व्यापारी, इन्जिनियर तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १९०१ मा स्थापना गरेको यस पुरस्कार सोही वर्षदेखि निरन्तर प्रदान गरिँदै आएको छ ।
चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई नोबेल पुरस्कार प्रदान गरिन्छ । अर्थशास्त्रतर्फको पुरस्कार भने सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको हो । अल्फ्रेड नोबेलको स्मृति दिवसमा हरेक वर्ष डिसेम्बर १० मा भव्य कार्यक्रम गरी नोबेल पुरस्कार प्रदान गर्ने गरिएको छ । चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्वीडेनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ ।
विजेताहरूले नोबेल डिप्लोमा, नोबेल पदक र १ करोड १० लाख स्वीडिस क्रोनर (१० लाख अमेरिकी डलर) पाउँछन् । एकभन्दा बढी विजेता भएमा पुरस्कार रकम बाँडिन्छ ।
पहिलो र दोस्रो विश्वयुद्धको समयमा केही वर्ष भने नोबेल पुरस्कार प्रदान गरिएको थिएन ।
प्रतिक्रिया