काठमाण्डु – नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ४२.१०% प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
हस्पिटलको छैटौं वार्षिक साधारणसभाले २०% बोनस शेयर र २२.१०% प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले २० प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको शेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय समेत गरेको छ । संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्ने लगायतका आवश्यक कामकारबाहीको अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ ।
अस्पतालको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको छ । सो अवधिमा कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ ।
फार्मेसी समेत समावेश गर्दा अस्पतालको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

नर्भिकले आर्थिक वर्ष २०८२/८३ मा १ लाख ७९ हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग सेवा (ओपीडी) प्रदान गरेको जनाएको छ । ९ हजारभन्दा बढीले अन्तरङ्ग सेवा (आईपीडी) र ६ हजारभन्दा बढीले आकस्मिक सेवा लिएका छन् ।
अस्पतालले ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको जनाएको छ ।




प्रतिक्रिया