सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान


ललितपुर– अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् । आवास नहुँदा उनीहरूलाई एक÷दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले बताईन् ।

स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा पठाउन खोज्छौ तर गैरसरकारी संस्थाले कहिले आफ्नो क्षेत्रमा नपर्ने, कहिले खाली नभएको र कहिले कार्यालय समयमा मात्रै लिनसक्ने भन्दै बेवारिसे मान्छे लिन गाह्रो मान्ने गरेको जानकारी दिंदै उने भनिन्, “गैरसरकारी संस्थाको प्रहरीसँग राम्रो सम्बन्ध हुँदा लिन मान्ने र नहुँदा गाह्रो हुन्छ ।”

जिल्लामा सरकारद्वारा सञ्चालित आवास गृह नहुँदा प्रहरीलाई अलपत्रमा परेका महिला तथा बालबालिकाको व्यवस्थापन कठिन भएको हो । मानसिक अस्पताल लगनखेलमा भएकाले पनि लगनखेल–जावलाखेल सडकखण्डमा मानसिक रोगी महिनामा तीन चारजनासम्म भेटिन्छन् ।

प्रमुख प्रहरी निरीक्षक श्रेष्ठ भन्छिन्, “स्थानीयवासीले प्रहरीलाई बुझाउँछन् तर हामीले कता पठाउने भन्ने समस्या छ ।” ब्यारेकमा राखौँ भनेपनि दिनभर काम गरेर फर्किएका महिला प्रहरीले राम्रोसँग आराम गर्न पाउँदैनन् । आवास गृह नहुँदा हिंसाबाट पीडित अरू महिलालाई समेत समस्या भएको प्रहरीले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement