काठमाण्डु – लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ ।
प्रदेशसभा अधिवेशन चालू नरहेको अवस्थामा बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको छ ।
जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
काफ्लेले पटक–पटक स्पष्टीकरणको मौका दिँदासमेत बेवास्ता गरी पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको पार्टीले जनाएको छ ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा काफ्लेको दल त्यागसम्बन्धी विवरण सार्वजनिक गरिएको उल्लेख छ । सूचनामा पार्टीले प्रदेशसभा सदस्य पदबाट निष्कासन गरेको जानकारीलाई कानुनी प्रक्रियाअनुसार सचिवालयले प्रकाशन गरेको जनाइएको छ ।
काफ्लेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको ह्वीपसँग सम्बन्धित विषयमा पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको छ ।





प्रतिक्रिया