परराष्ट्रमन्त्री साउदसँग बेलायती सेना प्रमुखको टोलीको भेटवार्ता


काठमाण्डु – नेपाल भ्रमणमा रहेको बेलायती सेना प्रमुख नजरल सरपेट्रिक सन्डर्सको टोलीले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज मंगलबार भएको भेटवार्तामा नेपाल र बेलायतबीच २ शताब्दीभन्दा लामो रहेको सम्बन्धबारे चर्चा गर्दै गोर्खाले बेलायती सेनामा पुर्‍याएको उच्च योगदानको चर्चा गरिएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री साउदले विक्रम संवत् १९९७ भन्दा अगाडि अवकाश भएका भूतपूर्व गोर्खाहरूले उठाउँदै आएको समान पेन्सन लगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधनबारे सेना प्रमुख सन्डर्ससँग छलफल भएको छ ।

सेना प्रमुख सन्डर्सले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेकाले गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको बताए ।

नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा पुर्‍याएको योगदानको बेलायती सेना प्रमुखले उच्च प्रशंसा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement