कांग्रेस र एमाले मिलेर सरकार बनाउनु हुँदैन : पूर्व मन्त्री साउद


काठमाण्डु – पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बनाउन नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले शनिबार वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरूले सत्ताकै लागि सरकार गठन गर्न नहुने बताए ।

उनले भने, ‘प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन । सत्ता साझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्न सक्छ ।’

विचार, सिद्धान्त र दृष्टिकोणलाई एकातिर राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने उनको भनाइ छ ।

कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढंगले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement