एनपीएलले राष्ट्रिय एकता र भाइचारा बलियो बनाउँछ : उपेन्द्र यादव

एनपीएलले राष्ट्रिय एकता र भाइचारा बलियो बनाउँछ : उपेन्द्र यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल प्रिमियर लिग (एनपीएल) ले राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचाराको भावना सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको अवसरमा शुभकामना सन्देश जारी गर्दै यादवले प्रतियोगिताको सफलताको कामना गरेका हुन्।

उनले एनपीएलले देशका विभिन्न भूगोल, समुदाय र पृष्ठभूमिका नेपालीलाई एउटै खेल मैदानको भावनात्मक सूत्रमा जोड्ने अवसर प्रदान गर्ने बताएका छन्।

खेलकुदले भाषा, जाति, धर्म, क्षेत्र र समुदायका सीमाभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकताको भावना बलियो बनाउन मद्दत गर्ने उनको भनाइ छ।

यादवले पछिल्लो समय क्रिकेटले हिमाल, पहाड र तराई–मधेसका नेपालीको भावनालाई एउटै सूत्रमा जोड्ने काम गरेको उल्लेख गरेका छन्।

एनपीएलजस्ता राष्ट्रियस्तरका प्रतियोगिताले उच्च खेल भावना विकास गर्दै देशवासीमाझ एकता र भाइचाराको सन्देश फैलाउने विश्वास उनले व्यक्त गरेका छन्।

उनका अनुसार प्रतियोगिताले नेपाली क्रिकेटको संस्थागत विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

यसले स्वदेशी युवा तथा प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै उनीहरूको भविष्य निर्माण र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउन सहयोग गर्नेछ।

निष्पक्ष प्रतिस्पर्धा, अनुशासन र उत्कृष्ट खेल भावनाको अपेक्षा गर्दै यादवले प्रतियोगिताका आयोजक, सहभागी स्वदेशी तथा विदेशी खेलाडी, प्राविधिक टोली र सम्पूर्ण क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।