काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भयो ।
लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिमले तेस्रो संस्करणको सुरुवात भने निराशाजनक ब्याटिङबाट गरेको छ ।
सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्ने क्रममा लुम्बिनीका किशोर महतोले चार विकेट लिए भने शेर मल्लले तीन विकेट हात पारे । शेड्ली भान स्काल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक विकेट लिए ।
सुदूरपश्चिमले चौथो ओभरमा २४ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । शेर मल्लले विनोद भण्डारीलाई नौ रनमा एलबीडब्ल्यु धरापमा पारे ।
त्यसपछि पाँचौँ ओभरमा आरिफ शेख र ब्रान्डन म्याकमुलेन आउट भए । आरिफ शून्य रनमा क्याच आउट भए भने म्याकमुलेन दुई रन बनाएर बोल्ड भए ।
सैफ जैब १३ रन बनाएर आउट भए । उनलाई शेड्ली भान स्काल्कविकले पेभेलियन फर्काए । इशान पाण्डेले सात रन बनाए । उनलाई तिलक भण्डारीको बलमा लुम्बिनीका कप्तान रोहित पौडेलले क्याच गरे ।
वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफेन रदरफोर्डबाट ठूलो इनिङको अपेक्षा गरिएको थियो । तर, उनी एक रनमै आउट भए ।
शेर मल्लको बलमा विकेटकिपर आसिफ शेखले उनलाई क्याच गरे । सोही ओभरमा मल्लले स्कट कुगेलाइनलाई पनि आउट गरे । कुगेलाइनले खाता खोल्न सकेनन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले भने केही संघर्ष गरे । उनले २७ रन बनाए पनि टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याउन सकेनन् । किशोर महतोले दीपेन्द्रलाई बोल्ड गरेपछि अर्को बलमा हेमन्त धामीलाई पनि शून्य रनमा बोल्ड गरे ।
विदेशी खेलाडी पनि असफल
सुदूरपश्चिमका चारै विदेशी खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । ओपनर सैफ जैबले १३ रन बनाए पनि ब्रान्डन म्याकमुलेन दुई, शेरफेन रदरफोर्ड एक र स्कट कुगेलाइन शून्य रनमै आउट भए ।
सुदूरपश्चिमलाई सस्तैमा समेटेपछि लुम्बिनीले अब जितका लागि ८८ रन बनाउनुपर्नेछ ।


प्रतिक्रिया