एनपीएल : आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवनबीच खेल हुँदै

एनपीएल : आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवनबीच खेल हुँदै


काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बीच प्रतिस्पर्धा हुँदैछ ।

लगातार तीन जित निकालेको जनकपुर र लगातार तीन हार खाएको लुम्बिनी आमनेसामने  हुन लागेका हुन् ।

जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ। यी दुवैबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई आठ÷आठ विकेटले हराएको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले हराएको हो । अपराजित जनकपुर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ।

यता तालिकाको पुछारमा रहेको लुम्बिनी भने पहिलो जितको खोजीमा छ। पहिलो खेलमा विराटनगरसँग एक बल बाँकी हुँदा दुई विकेटले पराजित भएको लुम्बिनी दोस्रो खेलमा पोखरासँग १० विकेटको पराकिलो अन्तरले पराजित भयो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा छ।