सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं

सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौंलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ।

यस साझेदारीले टोलीको आतिथ्य व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै खेलकुद र पर्यटनबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठकले सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

उनले क्रिकेट नेपाली समाजलाई जोड्ने प्रभावकारी माध्यम बन्दै गएको र एनपीएलले नेपाली क्रिकेटको विकासमा नयाँ अध्याय थपिरहेको बताए।

‘सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न र नेपाल प्रिमियर लिगको हिस्सा बन्न पाउँदा हामी खुसी छौं। क्रिकेटले मानिसहरूलाई जोड्ने प्रभावकारी माध्यमको रूप लिएको छ भने एनपीएलले नेपालमा यस खेलको विकासमा नयाँ अध्याय थपिरहेको छ,’ पाठकले भने।

खेलकुद र पर्यटनबीच स्वाभाविक सम्बन्ध रहेको उल्लेख गर्दै उनले ठूला प्रतियोगिताले खेलाडी, समर्थक, व्यवसायी तथा अन्य आगन्तुकलाई एकै ठाउँमा ल्याएर नेपाललाई नयाँ ढंगले चिनाउने अवसर सिर्जना गर्ने बताए।

नेपाली क्रिकेटको प्रवर्द्धन, खेल पर्यटनको विकास र नेपाललाई आकर्षक तथा स्वागतयोग्य गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा योगदान दिन पाउँदा गर्व लागेको उनको भनाइ छ।

उनले एनपीएल यात्राभरि सुदूरपश्चिम रोयल्ससँगको सहकार्य सफल र अर्थपूर्ण हुने विश्वाससमेत व्यक्त गरे।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रोयल ट्युलिप काठमाडौंसँगको सहकार्यले टोलीको आतिथ्य व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताए।

‘रोयल ट्युलिप काठमाडौंजस्तो प्रतिष्ठित आतिथ्य संस्थासँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं। एनपीएल क्रिकेट प्रतियोगिता मात्र नभई नेपालको पर्यटन र आतिथ्य क्षेत्रलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर पनि हो,’ खड्काले भने।

यस साझेदारीमार्फत खेलाडी, समर्थक र प्रतियोगितासँग जोडिएका आगन्तुकलाई गुणस्तरीय आतिथ्य अनुभव प्रदान गर्ने अपेक्षा गरिएको उनले बताए।

नेपाली क्रिकेटको विकास र खेल पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै खड्काले रोयल ट्युलिप काठमाडौंसँगको साझेदारी सफल हुने विश्वास व्यक्त गरे।

एनपीएलले क्रिकेटको प्रतिस्पर्धालाई व्यावसायिक साझेदारी, आतिथ्य सेवा र पर्यटन प्रवर्द्धनसँग जोड्ने अवसर प्रदान गर्दै आएको छ।

सुदूरपश्चिम रोयल्स र रोयल ट्युलिप काठमाडौंबीचको सहकार्यलाई पनि खेलकुद तथा पर्यटन क्षेत्रबीचको सहकार्य विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।