भूकम्पका चार वर्ष : ५० % निजी आवास पुनर्निर्माण, पुनर्निर्माणका लागि थप ४२९ अर्ब आवश्यक


काठमाडौं– नेपालमा विनाशकारी भूकम्प गएको चार वर्षमा पुनर्निर्माणको काम तीव्र गतिमा बढेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घर, सार्वजनिक आवास तथा सम्पदाको पुनर्निर्माणलाई तीव्रता दिएको हो। भूकम्प १२ वैशाख २०७२ मा गएको थियो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल भएको छ। ‘अनुदान सम्झौता गरेका ७,६२,३०७ घर परिवार मध्ये ६,१२,९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा छन्,’ उनले भने।
यद्यपि, ५० प्रतिशत अर्थात ३,८२,२७७ घर पुनर्निर्माण सम्पन्न भइसकेका छन्। बाँकी ३० प्रतिशत अर्थात २,३०,६५८ परिवार घर पुनर्निर्माणको क्रममा छन्।

‘जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । त्यस्तै भूमिहीन, स्ववासी लगायतको समस्या पनि समाधान गर्दैछौं । जनताबाट आएका अधिकांश गुनासो सम्बोधन गरेका छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने।
अब अन्तिम पटकको गुनासो सुन्ने क्रममा स्थानीय तहसँगको समन्वयमा सर्वेक्षणको काम भइरहेको छ।

भूकम्पबाट ७,५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल भएको प्राधिकरणले जनाएको छ। जसमा ५९ प्रतिशत अर्थात ४,४७६ को पुनर्निर्माण सम्पन्न भइसकेका छन् । १,७७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

यस्तै स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल भएको छ।
जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न भएका छन् भने १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा छन् ।

पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशत उपलब्धी हासिल भएको छ। २२४ वटा अर्थात ३० प्रतिशत पुननिर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

रानीपाखेरी, धरहरा, काष्ठमण्डप लगायत काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा अघि बढाइएको छ । गुम्बाहरु पुनर्निर्माणको लागि कार्यविधि तय गरी डिजाइन कार्य भइरहेको छ ।

सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको छ, जसमा ३८ प्रतिशत अर्थात १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१ वटा भवन पुनर्निर्माणको क्रममा छन् । यस्तै सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी गरेका छौं, जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । भूकम्पबाट क्षति भएका सडक, खानेपानी लगायतका संरचनाहरुको पनि पुनर्निर्माण गर्ने÷गराउने कार्य भैरहेको छ ।

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल रु.९३८ अर्ब रकमको आंकलन गरिएको थियो । जस मध्ये आर्थिक वर्ष ०७४÷७५ सम्म कुल रु. १८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा रु.१२३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको छ ।

यस्तै गरी सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिव रु. २०० अर्ब परिचालन हुने अपेक्षा गरिएको उनले बताए। अब पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव रु. ४२९ अर्ब रकम आवश्यक पर्ने ज्ञवालीले जनाए।

प्रतिक्रिया दिनुहोस
Advertisement