अनुदान सम्झौता नगरे वा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाउने प्राधिकरणकाे चेतावनी


काठमाडौं— राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ ।

प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत पनि गराएको छ ।

निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताए। सोमबार अपरान्हसम्मको तथ्यांकअनुसार ८ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् ।

भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आआफ्नो वडा कार्यालयहरुमा सम्पर्क राख्नुपर्नेछ ।  त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीहरुलाई यही असार मसान्तभित्र पहिलो किस्ता बापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३१७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् ।  असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ ।

निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन् । प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरु दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन् । प्राधिकरणले लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन लाभग्राहीलाई कार्यमा स्थानीय तहहरुको सहयोगको अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement