काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन् ।
बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच सोमबार अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
ठूलो मात्रामा विदेशी रकम सञ्चित हुँदा तरलता थुप्रिएको र अर्थतन्त्रमा त्यसले प्रभाव पारेको बताउँदै उनले आगामी दिनमा सबैभन्दा तल्लो वर्गलाई ऋण उपलब्ध गराउने र त्यसले केही हदसम्म अर्थतन्त्र गतिशील हुन सहयोग गर्नसक्ने धारणा व्यक्त गरे ।
उनका अनुसार यतिबेला नेपालमा करीब १७–१८ अर्ब डलर विदेशी मुद्रा सञ्चित रहेको छ ।
‘एकै व्यक्ति वा संस्थाले ठूलो मात्रामा ऋण पाउनुभन्दा सोही ऋण धेरै जनाले पाउँदा पनि अर्थतन्त्र अझ बढी चलायमान हुन्छ । त्यसलै सबैभन्दा तल्लो वर्गले पनि ऋण पाओस् भन्ने हाम्रो मनशाय हो,’ छलफलमा बोल्दै उनले भने । त्यस्ता वर्गको अवस्था बुझ्न आफू केही दिन पश्चिम नेपालको भ्रमणमा जान लागेको समेत उनले बताए ।
यतिबेला अधिकांश व्यवसाय राम्रोसँग नचलेको उदाहरण दिँदै उनले सोही कारण खराब ऋण बढ्दै गएको बताए । खराब ऋण बढ्नै जानुको मुख्य कारण अझै पनि नेपालमा उद्यमशिलता बलियो गरी स्थापित नहुनुले भएको उनको भनाइ छ ।
व्यवसायी असफल हुँदा खराब ऋण बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा असर गर्ने बताउँदै उनले खराब ऋणलाई कम गर्ने र समग्र अर्थतन्त्र चलायमान बनाउन आफूले गृहकार्य गरिरहेको बताएका छन् ।
प्रतिक्रिया