काठमाण्डु – सर्वोच्च अदालतको परमादेशअनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले ३ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ ।
वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् ।
नेपालको कानूनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे डेमोक्र्याटिक लयर्स एशोसियशनका पूर्वअध्यक्ष हुन् भने ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए यूकेका पूर्वअध्यक्ष हुन् । बेलायतमा बसोबास गर्ने उनले हाल पोखरामा आफ्नै होटल व्यवसाय सञ्चालन गरिरहेका छन् । अधिवक्ता आशिष उप्रेती युवा कानून व्यवसायी हुन् ।
‘लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३–५, २०२५ मा काठमाण्डुमा एकताको महाधिवेशन गर्न लागिएको छ । संस्थाको लोकतान्त्रिकरण तथा सम्पूर्ण सदस्यहरूलाई अधिकारसम्पन्न गर्ने गरी निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन समितिलाई सहयोग गर्न पनि हामी सम्पूर्ण मित्रहरूलाई आग्रह गर्दछौं,’ उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले भने ।
उच्चस्तरीय समितिले ३१ मार्च २०२५ भित्र नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ ।
समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाण्डुमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ ।

प्रतिक्रिया