काठमाण्डु-लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीका अनुसार सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन्।
बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ ।
पदाधिकारीको बैठक पछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग सङ्कलनमा थप छलफल गरिने केसीले बताए ।
अध्यक्ष डा.केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ ।
यसैक्रममा सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौँमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ ।
प्रतिक्रिया