एनआरएनए एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा

एनआरएनए एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी वैशाख २० देखि २२ गतेसम्म काठमाण्डुमा आयोजना हुने एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिले तय गरेको कार्ययोजना बमोजिम महाधिवेशनको तयारीहरू अन्तिम चरणमा पुगेको संयोजक डा. शेष घलेले जानकारी दिए ।

समितिका संयोजक डा. घलेका अनुसार निर्वाचन समिति गठन भइसकेको छ भने सदस्यता नवीकरण तथा वितरण प्रक्रिया पनि सम्पन्न भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको छनोट प्रक्रिया वैशाख ९ गतेसम्म कायम रहनेछ । हालसम्म विभिन्न मुलुकबाट प्रतिनिधिहरू काठमाण्डु आइपुगिसकेका छन् भने थप प्रतिनिधिहरू आउने क्रम जारी छ ।

डा. घलेले अदालतको आदेश बमोजिम तोकिएको समयमै कार्यसम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जनाउँदै मिति परिमार्जन गर्ने कुनै विकल्प नरहेको स्पष्ट पारे ।

उनले निर्धारित कार्ययोजना समयमै सम्पन्न नगरे अदालतको अवहेलनामा पर्ने भएकाले सम्पूर्ण पदाधिकारी, प्रतिनिधि तथा सरोकारवालाहरूलाई आफ्नो तहबाट सक्दो सहयोग गर्न अपिल समेत गरेका छन् ।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा एकता महाधिवेशन उच्चस्तरीय मूल समिति तथा प्रचार प्रसार समिति संयोजक रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेबपोर्टलमा १६ हजार बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिइन् । ‘एनसीसीहरूमा आवद्ध भएर एनसीसीले उच्चस्तरीय समितिलाई पठाएको संख्या जोड्ने हो भने ४७ हजार बढी रहेको छ । उच्चस्तरीय समितिको वेबपोर्टल र एनसीसीहरूबाट आएको संख्या जोड्दा ६३ हजार बढी जना सदस्य बन्नुभएको छ,’ उनले भनिन् ।

उनले उच्चस्तरीय समितिको १४ पटक बैठक बसिसकेको पनि जानकारी दिइन् । उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको पटक–पटकको पत्राचारका बाबजुद संघको सचिवालय, एमआईएस प्रणाली लगायतमा पहुँच नदिइएकाले उच्चस्तरीय समितिले आफ्नै वेबपोर्टलमा सदस्यता आह्वान गरेको जनाइन् । महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको जानकारी दिइन् ।