सरकारले एनआरएनएको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्छ : परराष्ट्रमन्त्री राणा

सरकारले एनआरएनएको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्छ : परराष्ट्रमन्त्री राणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने बताएकी छन् ।

सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई बधाई दिन परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राणाले छुटेको समूहलाई पनि यहीमार्फत गोलबद्ध हुन आह्वान गरिन् ।

‘अहिले उच्चस्तरीय समितिले सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्न पहल गरोस्, त्यसमा हामी पनि सहयोग गर्छाैं,’ मन्त्री राणाले भनिन् । अदालतमा रहेका मुद्दाहरूमा पनि मन्त्रालयले प्रक्रियागत रूपमा किनारा लगाउँदै जाने उनले प्रतिबद्धता जनाइन् ।

मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग सहकार्य गरेर नेपालको उन्नतिमा साथ दिन अपिल गरिन् । मध्यपूर्व, खाडी मात्र नभई संसारका विभिन्न ठाउँमा अप्ठ्यारोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रस्ट पारिन् ।

सो अवसरमा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान कार्यसमितिलाई बधाई दिँदै सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए । उनले बृहत् एकताका लागि अहिलेको कार्यसमितिले पहल गर्ने आफूले विश्वास लिएको उल्लेख गरे । उनले विभिन्न ठाउँका समस्याबारे आपसी छलफलमार्फत समाधान गर्ने बताए । एनआरएन ऐनका विषयमा सुझाव दिन पनि सचिव राईले अनुरोध गरे ।

संघका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठले एकता अधिवेशन सम्पन्न गर्न परराष्ट्रमन्त्री डा. देउवा, परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरे । आगामी दिनमा पनि मन्त्रालयको साथ र सहयोग लिएर अघि बढ्ने उनले बताए । हतारमा भन्दा पनि सबैकुराहरु सोच–विचार गरेर मात्रै आफ्नो कार्यसमिति अघि बढ्ने उनले बताए ।

एनआरएन भित्रका विवादहरू समाधानका लागि सल्लाहकार बोर्डको आवश्यकता रहेको उनले बताए । अध्यक्ष श्रेष्ठले नेपालको विकासमा साझेदार बन्न एनआरएनए सधैं तयार रहेको पनि जनाए ।

एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले तीता कुराहरू बिर्सिएर अघि बढ्दा मात्रै सबैले सफलता पाउने बताए । संसारकै ठूलो संगठनको रूपमा रहेको एनआरएनबाट सरकारले पनि लाभ लिन सक्ने उनले बताए ।

एनआरएनए अभियन्ता आरके शर्माले एकताको पहलका लागि मन्त्री राणालाई धन्यवाद दिँदै आगामी दिनमा कुनै पनि विषयवस्तुमा छलफल गर्न आफूहरू तयार रहेको बताए । उनले मध्यपूर्वका समस्याहरूलाई सम्बोधन गर्नका लागि विशेष आग्रह पनि गरे ।

उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले सबैको साथ र सहयोगले एकताको अधिवेशन गराउन सकिएको बताए । उनले बृहत् एकताका लागि नवनिर्वाचित कार्यसमितिले काम गर्ने र आफू सघाउन तयार रहेको बताए ।

उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले एकता महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित गरेको जानकारी सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई गराइसकेको बताइन् । अहिलेको झन्झटबाट चाँडो मुक्त हुने वातावरण बनाउन सबैलाई उनले आग्रह गरिन् ।

सोही अवसरमा उच्चस्तरीय समितिका सदस्य कुँवर तथा सदस्य सचिव गुरुङले रिपोर्ट परराष्ट्रमन्त्री राणालाई पनि हस्तान्तरण गरेका थिए ।