काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न गृहमन्त्री सुधन गुरुङसँग आग्रह गरेका छन्।
गृहमन्त्री गुरुङसँग भएको भेटमा एनआरएनए पदाधिकारीले हाल गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था भए पनि संविधानका अधिकारको पूर्ण र प्रभावकारी उपयोगमा कानुनी तथा व्यावहारिक जटिलता रहेको बताएका थिए।
उनीहरूले ती जटिलता समाधानका लागि गृह मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न आग्रह गरेका छन्।
भेटमा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यताको मर्मअनुसार एक पटक वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले पछि विदेशी नागरिकता लिए पनि वंशजको नेपाली नागरिकताको निरन्तरता कायम रहने गरी स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
सरकारले संविधान संशोधनका लागि छलफल अघि बढाइरहेको सन्दर्भमा गैरआवासीय नेपालीसँग सम्बन्धित नागरिकताको निरन्तरता तथा वंशजको नागरिकताको अधिकारलाई संविधानमै स्पष्ट रूपमा सुनिश्चित गर्न आवश्यक पहल र समन्वय गर्न एनआरएनएले आग्रह गरेको हो।
भेटमा गृहमन्त्री गुरुङले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय र परामर्श गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
गैरआवासीय नेपालीका सरोकारका विषयमा सरकार सकारात्मक रहेको बताउँदै उनले आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका थिए।
भेटका क्रममा एनआरएनएले विपद् व्यवस्थापन तथा मानवीय सहायता क्षेत्रमा संघले गर्दै आएको कामबारे पनि गृहमन्त्रीलाई जानकारी गराएको थियो।




प्रतिक्रिया