काठमाण्डु – वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले वन तथा वातावरण मन्त्रालयले एनडीसी ३.० सबै निकायहरूमा छलफल गरेर अगाडि बढाइसकेको बताएका छन् ।
जलवायु परिवर्तन, न्यायोचित रूपान्तरण र जलवायु सम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) ३.० बारे नीति संवादमा बोल्दै उनले सरोकारवाला र सबैको राय, सुझाव, सल्लाह लिएर करीब–करीब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडीसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताए ।
उनले भने, ‘नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकका हक र अधिकारका लागि आफ्नो स्थापनाकालदेखि आजसम्म अत्यन्तै महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । अहिले वन तथा वातावरण मन्त्रालयले एनडीसी ३.० जो बनाइरहेको छ, यसमा सम्पूर्ण सबै सरोकारवाला र सबैको राय–सुझाव, सल्लाह लिएर सबै मन्त्रालय र निकायहरूमा छलफल पनि अगाडि बढिसकेको छ । सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौं ।’
नीति संवादमार्फत आएका सुझावहरूलाई पनि एनडीसीमा समावेश गरिने उनले बताए । सबैको अपनत्व हुने किसिमले एनडीसी तयार हुने उनले बताए ।
उनले भने, ‘आजको कार्यक्रममार्फत आएका सुझावहरूलाई पनि एनडीसीमा समावेश गर्छ । सबैको साझा र विशेषगरी सबैको अपनत्व हुने किसिमले एनडीसी तयार हुनेछ । विशेषगरी देशमा श्रमिकको क्षेत्र अत्यन्तै बढी छ, यसलाई अनुकूलन बनाउँदै सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई जिरोमा पुर्याउने महत्त्वकांक्षी लक्ष्य छ ।’
प्रतिक्रिया