बालोन डी’ओरको दौडमा ह्यारी केन अगाडि, मेस्सी शीर्ष १० मा हुँदा रोनाल्डो अटेनन्

बालोन डी’ओरको दौडमा ह्यारी केन अगाडि, मेस्सी शीर्ष १० मा हुँदा रोनाल्डो अटेनन्

एमबाप्पे र ओलिसे पनि बलिया दाबेदार, यामल तेस्रो स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ को दौडमा इंग्ल्यान्डका कप्तान ह्यारी केन सबैभन्दा बलिया दाबेदार देखिएका छन्।

चर्चित खेल अनलाइन ईएसपीएनका फुटबल विश्लेषक रायन ओ’हानलोनले सार्वजनिक गरेको आफ्नो मतसूचीमा केनलाई पहिलो स्थानमा राखेका छन्।

जर्मन क्लब बायर्न म्युनिखका केनसँगै उनका क्लब सहकर्मी माइकल ओलिसे, बार्सिलोनाका लामिन यामल, रियल मड्रिडका किलियन एमबाप्पे र म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड पनि उपाधिका प्रमुख प्रतिस्पर्धी दाबेदार छन्।

रायनको विश्लेषणअनुसार, बालोन डी’ओरसम्बन्धी अनुमान बजारमा केनले जित्ने सम्भावना करिब ६६ प्रतिशत देखाइएको छ। बालोन डीुओर उपाधि कार्यक्रम सोमबार लण्डनमा हुँदैछ ।

यामलको सम्भावना २८ प्रतिशत रहेको अनुमान छ। बाँकी सम्भावना एमबाप्पे, लियोनेल मेस्सी र अन्य खेलाडीबीच बाँडिएको छ। यी तथ्यांक अहिलेलाई अनुमान बजारमा आधारित हुन्।

विश्लेषक ओ’हानलोनले २०२५-२६ सिजनमा घरेलु लिग, च्याम्पियन्स लिग र विश्वकपमा खेलाडीहरूको प्रदर्शनलाई आधार बनाएर आफ्नो मतसूची तयार पारेका छन्।

उनको विश्लेषणमा गोल, गोलका लागि सहयोग, अवसर सिर्जना, बलमाथिको नियन्त्रण, रक्षात्मक योगदान तथा टोलीको प्रदर्शनलाई समेत ध्यान दिइएको छ।

केन किन पहिलो दाबेदारर ?

केनले २०२५-२६ सिजनमा बायर्न म्युनिखका लागि गरेको प्रदर्शनका कारण बालोन डी’ओरको दौडमा बलियो दाबेदारी प्रस्तुत गरेका छन्। ईएसपीएनको विश्लेषणमा युरोपियन स्पोर्ट्स मिडियाको मासिक उत्कृष्ट टोलीमा सबैभन्दा बढी आठ पटक स्थान बनाउने खेलाडी केन थिए।

मासिक उत्कृष्ट टोलीमा नियमित स्थान पाउनु खेलाडीले सिजनभर देखाएको निरन्तर प्रदर्शनको एउटा संकेत हो। केनले घरेलु लिगमा मात्र नभई च्याम्पियन्स लिग र विश्वकपमा समेत प्रभावशाली प्रदर्शन गरेको विश्लेषणमा उल्लेख छ।

केनको बलियो पक्ष गोल गर्ने क्षमता मात्रै होइन। उनी आक्रमणको सुरुवातमा सहभागी हुने, सहकर्मीका लागि अवसर सिर्जना गर्ने र टोलीको समग्र खेलमा योगदान दिने खेलाडीका रूपमा पनि चिनिन्छन्।

ईएसपीएनका विश्लेषकले गोल र असिस्टको तथ्यांकलाई मात्रै आधार मान्दा खेलाडीको वास्तविक योगदान पूर्ण रूपमा बुझ्न नसकिने बताएका छन्।

त्यसैले उनले पेनाल्टीबाट भएका गोल, अपेक्षित असिस्ट र बल नियन्त्रणका क्रममा टोलीको गोल गर्ने सम्भावनामा पर्ने प्रभावलाई समेत विश्लेषणमा समेटेका छन्।

ओलिसे दोस्रो, यामल तेस्रो

केनपछि दोस्रो स्थानमा बायर्न म्युनिखकै माइकल ओलिसे छन्। फ्रान्सका आक्रामक खेलाडी ओलिसेले बल नियन्त्रण, अवसर सिर्जना र विपक्षीमाथि दबाब दिने क्षमताका कारण विश्लेषकको ध्यान खिचेका छन्।

ईएसपीएनको विश्लेषणमा प्रयोग गरिएको अपेक्षित पोजेसन मूल्य अर्थात् एक्सपेक्टेड पोजेसन भ्यालु (एक्सपीभी) मापनमा ओलिसे शीर्ष स्थानमा रहेको उल्लेख छ।

यस मापनले बलसँग खेलाडीले गर्ने विभिन्न गतिविधिले आफ्नो टोलीको गोल गर्ने सम्भावनामा कस्तो प्रभाव पार्छ भन्ने आकलन गर्छ।

तर विश्वकपमा गोल गर्न नसक्नु ओलिसेका लागि कमजोर पक्ष बनेको विश्लेषकको टिप्पणी छ। फ्रान्सका लागि उनले सिर्जना गरेका अवसरको अपेक्षित गोल संख्या उच्च भए पनि त्यसलाई वास्तविक गोलमा परिणत गर्न नसक्दा उनको दाबेदारीमा असर परेको छ।

तेस्रो स्थानमा बार्सिलोनाका १९ वर्षीय स्पेनी युवा स्टार लामिन यामल छन्। कम उमेरमै विश्व फुटबलमा स्थापित भएका यामलको व्यक्तिगत क्षमता र खेलमाथिको प्रभावलाई विश्लेषकले स्वीकार गरेका छन्।

तर मासिक उत्कृष्ट टोलीमा उनी केवल दुई पटक मात्रै परेका थिए। त्यही आधारमा विश्लेषकले २०२५(२६ सिजनको समग्र प्रदर्शनका हिसाबले यामलभन्दा केही खेलाडी अगाडि रहेको निष्कर्ष निकालेका छन्।

यद्यपि, विश्लेषकका अनुसार यामल अहिले विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनको उमेर, सिर्जनात्मक क्षमता र खेलमा देखिएको प्रभावले भविष्यमा बालोन डी’ओर जित्ने सम्भावनालाई बलियो बनाउँछ।

एमबाप्पे र हालान्ड पनि प्रतिस्पर्धामा

रियल मड्रिडका किलियन एमबाप्पे प्रतिस्पर्धाको चौथो स्थानमा छन्। विश्लेषकले प्रयोग गरेको गोल र अपेक्षित पोजेसन मूल्यको समायोजित गणनामा एमबाप्पे उत्कृष्ट देखिएको उल्लेख गरेका छन्।

स्पेनी ला लिगा, च्याम्पियन्स लिग र विश्वकपमा उनको प्रदर्शनलाई विश्लेषकले महत्त्व दिएका छन्। बल नियन्त्रणका क्रममा टोलीको आक्रमणलाई प्रभावकारी बनाउने क्षमतामा पनि एमबाप्पे अगाडि रहेको विश्लेषण छ।

म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड पाँचौँ स्थानमा छन्। उनको गोल गर्ने क्षमता र आक्रामक योगदानले उनलाई शीर्ष पाँचभित्र राखेको छ।

आर्सनलका मिडफिल्डर डेक्लान राइस छैटौँ स्थानमा छन्। विश्लेषकले उनलाई विश्वकै उत्कृष्ट मिडफिल्डरमध्ये एक माने पनि शीर्ष आक्रमणकारी खेलाडीभन्दा स्पष्ट रूपमा अगाडि राख्न पर्याप्त अन्तर नभएको उल्लेख गरेका छन्।

मेस्सी नवौँ स्थानमा

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी ईएसपीएनका विश्लेषकको मतसूचीमा नवौँ स्थानमा छन्। इन्टर मियामीका लागि खेल्ने मेस्सीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको विश्लेषणमा उल्लेख छ।

विश्वकपमा सर्वाधिक पाँच पटक प्लेयर अफ द म्याच चुनिने खेलाडी मेस्सी थिए। इंग्ल्यान्डका जुड बेलिङ्घम चार पटक प्लेयर अफ द म्याच बनेका थिए।

फ्रान्सका एमबाप्पे, नर्वेका हालान्ड र ब्राजिलका भिनिसियस जुनियर तीन(तीन पटक उक्त पुरस्कार जित्ने खेलाडीको सूचीमा थिए।

तर युरोपका शीर्ष पाँच लिग, च्याम्पियन्स लिग र विश्वकपमा गरेका गोल तथा असिस्टलाई समेटेर तयार गरिएको एक समग्र सूचीमा मेस्सी १३९औँ स्थानमा रहेको विश्लेषणमा उल्लेख छ। उक्त गणनामा उनको विश्वकपका आठ खेलको तथ्यांक मात्र समावेश गरिएको थियो।

यसले मेस्सीको विश्वकप प्रदर्शन र सिजनभरको समग्र तथ्यांकबीच रहेको अन्तरलाई देखाउँछ।

विश्लेषकले मेस्सी विश्वकपका उत्कृष्ट खेलाडीमध्ये एक रहेको र अझै पनि विश्वकै उत्कृष्ट खेलाडी हुन सक्ने तर्क गरेका छन्। त्यसैले उनले मेस्सीले पहिलो स्थानका लागि मत पाउन सक्ने सम्भावना पनि औँल्याएका छन्।

रोनाल्डोको नाम शीर्ष १० मा छैन

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो यस विश्लेषकको शीर्ष १० सूचीमा परेका छैनन्। ईएसपीएनको लेखमा युरोपियन स्पोर्ट्स मिडियाको मासिक उत्कृष्ट टोलीमा सन् १९९५ यताका तथ्यांकअनुसार मेस्सी ८८ पटक र रोनाल्डो ५१ पटक छनोट भएको उल्लेख छ।

सक्रिय खेलाडीमध्ये केभिन डी ब्रुयने ३२ पटक र भर्जिल भान डाइक ३० पटक मासिक उत्कृष्ट टोलीमा परेका छन्। रियल मड्रिडका एमबाप्पे २५ पटक उक्त टोलीमा परेका छन्।

यी तथ्यांकले दीर्घकालीन प्रदर्शन र सिजनविशेषको प्रदर्शनबीच फरक रहेको देखाउँछन्। रोनाल्डो ऐतिहासिक तथ्यांकमा अगाडि भए पनि २०२५-२६ सिजनको विश्लेषकको व्यक्तिगत मतसूचीमा भने समावेश छैनन्।

ईएसपीएनको शीर्ष १०

ईएसपीएनका रायन ओ’हानलोनले २०२६ बालोन डी’ओरका लागि तयार पारेको व्यक्तिगत मतसूची यस्तो छ :

१. ह्यारी केन, बायर्न म्युनिख

२. माइकल ओलिसे, बायर्न म्युनिख

३. लामिन यामल, बार्सिलोना

४. किलियन एमबाप्पे, रियल मड्रिड

५. एर्लिङ हालान्ड, म्यानचेस्टर सिटी

६. डेक्लान राइस, आर्सनल

७. ख्विचा क्वारात्स्खेलिया, पेरिस सेन्ट जर्मेन

८. गाब्रिएल मागाल्हाएस, आर्सनल

९. लियोनेल मेस्सी, इन्टर मियामी

१०. जुलियन अल्भारेज, एट्लेटिको मड्रिड

बालोन डी’ओर छनोटका आधार ?

बालोन डी’ओरको नियमअनुसार पुरुष र महिला फुटबलका उत्कृष्ट खेलाडीलाई लिग वा राष्ट्रियताको आधारमा विभेद नगरी पुरस्कार दिइन्छ।

छनोटका मुख्य आधारमा व्यक्तिगत प्रदर्शन, निर्णायक तथा प्रभावशाली खेल, टोलीको प्रदर्शन र जितेका उपाधि, साथै खेलाडीको खेलभावना र निष्पक्ष व्यवहार समावेश छन्।

तर व्यक्तिगत उत्कृष्टता र टोलीको सफलता दुवैलाई महत्त्व दिइने भएकाले छनोट सधैँ विवादरहित हुँदैन।

बलियो टोलीमा खेल्ने खेलाडीले उपाधि जित्ने अवसर बढी पाउन सक्छन्, जबकि व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको टोलीले उपाधि नजित्न सक्छ।

ईएसपीएनका विश्लेषकले पनि यही विरोधाभास औँल्याएका छन्। उनको मतमा गोल र असिस्टको संख्या मात्र हेरेर उत्कृष्ट खेलाडी छान्न सकिँदैन।

खेलाडीले बलसँग र बलबिना गर्ने योगदान, अवसर सिर्जना गर्ने क्षमता, रक्षात्मक भूमिका र टोलीको प्रदर्शनलाई पनि समेट्नुपर्छ।

केनलाई पहिलो स्थानमा राखिएको यो ईएसपीएनको मतसूची हो, यसलाई आधिकारिक बालोन डी’ओर नतिजा मान्न सकिँदैन। अन्तिम विजेता पुरस्कारको आधिकारिक छनोट प्रक्रियाबाटै तय गरिन्छ ।