विदुर– नुवाकोटको थानाभञ्ज्याङमा रोकिएको बस अचानक गुडेर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।
बसले सडकछेउमा रोकिराखेको खाली इभी भ्यानलाई समेत ठक्कर दिएपछि दुवै सवारीसाधन सडकबाट तल भीरमा खसेका थिए । दुर्घटनामा तीन महिला घाइते भएका छन् ।
शनिबार बिहान पौने ९ बजे शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङस्थित टोखा–छहरे सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार काठमाण्डुबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा।प्र। ०८–००१ ख ००५२ नम्बरको बस सडक किनारमा रोकिएको थियो ।
चालक र यात्रुहरू खाजा खान गएको समयमा बस अचानक गुडेपछि सडकछेउमा रोकिराखेको बा।प्र। ०३–००१ ज ११७६ नम्बरको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो ।
ठक्करपछि बस र इभी भ्यान सडकबाट करिब ४० मिटर तल खसेका थिए ।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ, लालबन्दी–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ छन्।
पोखरेलको दाहिने हात, सर्मिलाको बायाँ हात तथा ज्ञानुको टाउको र ढाडमा चोट लागेको छ। तीनै जनाको काठमाण्डुस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
बसमा सवार यात्रुहरू खाजा खान ओर्लिएका कारण दुर्घटनाका बेला बसमा कति यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीका अनुसार बस चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया