ओलीको राजनीतिक प्रतिवेदनः गत निर्वाचनमा पपुलिस्टको उदय र दक्षिपन्थीको शक्ति विस्तार


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटना भएको बताएका छन् ।

शनिवार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले रास्वपालाई प्रियतावादी शक्तिका रुपमा र कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिका रूपमा चर्चा गरेका हुन् ।
दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको उनले बताए ।

उनले भने, ‘ निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेका छन् । यस बिचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा सङ्कट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ । यस स्थितिले सृजना गरेको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ । उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् । तर उनीहरूसँग यसको समाधान भने छैन ।’, उनले भने ।

अध्यक्ष ओलीले विगतमा आफूले गरेको संसद विगठन र सरकारमा बहुमत नपुगेर सरकार छोडेको कुरालाई संविधानको अपव्याख्या गरेर हटाएको बताए।

‘पार्टी विभाजनका दुष्प्रयास, संविधानको अपव्याख्याका आधारमा सरकारबाट विस्थापन, चौतर्फी घेराबन्दी र आक्रमणका बिचमा २०७८ असोज १५-१७ मा विधान महाधिवेशन तथा मङ्सिर १० गतेदेखि १४ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरिएको थियो । आज फर्केर हेर्दा हामी स्पष्टसँग भन्न सक्छौँ, ती महाधिवेशनहरू दक्षिणपन्थी अवसरवाद र अराजकतामाथि सङ्गठनात्मक विजयको रूपमा रहेको थियो ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement