ओलीले मन्त्रिपरिषद्‍मा समेटेनन् दलित र मुस्लिमलाई

ओलीले मन्त्रिपरिषद्‍मा समेटेनन् दलित र मुस्लिमलाई


काठमाण्डु – आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका एमाले अध्यक्ष केपी शर्माओलीले दुई उपप्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उपप्रधानमन्त्री र मन्त्रीहरूले पनि आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

तर, ओलीले आफूले पद तथा गोपनियताको शपथ लिएकै दिन संविधान अनुरुप बनाउन पाउने २५ सदस्यीय मन्त्रिपरिषद्‍मा २२ जना नियुक्त गर्दा दलित समुदाय र मुस्लिम समुदायलाई समेट्न सकेनन् ।

वि.सं. २०७८ सालको जनगणना अनुसार नेपालमा दलित समुदायको जनसंख्या १३.४ प्रतिशत छ भने मुस्लिम समुदायको जनसंख्या ४.८६ प्रतिशत छ ।

त्यतिमात्र होइन मन्त्रिपरिषद्मा आधा आकाश ढाकेको महिलाको उपस्थिति दुई जना मात्रै छ । कांग्रेसबाट आरजु राणा देउवा परराष्ट्रमन्त्री र एमालेबाट विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।

मन्त्रिपरिषद्‌मा जनजाति तीन जना समेटिएका छन् भने मधेसी ४ जना समेटिएका छन् । सबैभन्दा बढी खस आर्यको बाहुल्यता मन्त्रिपरिषद्‍मा देखिन्छ ।

दलित समुदायबाट मन्त्री बन्ने चर्चामा रहेका एमाले सचिव छविलाल विश्वकर्मा र कांग्रेस सहमहामन्त्री जीवन परियारको नाम अन्तिम सूचीमा काटिएको थियो ।