ओली र गुरुङलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा उजुरी (पूर्ण पाठ)

ओली र गुरुङलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा उजुरी (पूर्ण पाठ)


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी मिनबहादुर गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ ।

सोही जग्गाको विषयलाई लिएर युवराज पौडेलले उनीहरूविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । ओली र गुरुङलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन उजुरीकर्ता पौडेलले माग गरेका छन् ।

उनले दर्ता गराएको उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ ।

‘विवादास्पद व्यक्तिबाट करोडौं रुपैयाँको जग्गा घुस वापत लिने र करोडौं खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो व्यक्तिगत एवं व्यवासायगत लाभ लिने, आफ्ना मुद्दा खारेज गर्ने नियतका साथ करोडौंको जग्गा घुस दिने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने मानसिव देखिएको‘,’ उजुरीमा भनिएको छ ।