पहिले प्रचण्ड–ओलीको बैठक, त्यसपछि संयोजक समितिको बैठकबाट पार्टी एकताको टुंगो लाग्ने


काठमाडौं – माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको अन्तिम टुंगो बुधवार लाग्ने भएको छ । पार्टी एकतालाई अन्तिम रुप दिन दुवै दलले पार्टी एकता संयोजन समितिको बैठक बोलाएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठकाअनुसार संयोजन समितिको बैठक मानभवनमा दिउसो २ बजे बस्ने भएको छ ।

दुवै पार्टीका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीले पार्टी एकतामा जाने भन्दै नेतृत्व,वैचारीक र सांगठनिक विषयको टुंगो लगाएपछि त्यसलाई अन्तिम रुप दिन एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

एकता संयोजन समितीको बैठकपछि आजै लिखित समझादरीपत्र समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको नेताहरुले बताएका छन् ।

ओली प्रचण्डको बैठक बस्दै
पार्टी एकता संयोजन समितिको बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुदैंछ । एमाले अध्यक्ष ओली निकट स्रोतकाअनुसार बैठक केहीबेरमा मानभवनमा सुरु हुदैछ । ‘दुवै अध्यक्षको बैठक केहीबेरमा बस्दैछ, उहाहरुको बैठकपछि एकता संयोजन समितीको बैठक बसेर टुंगो लाग्छ ।’ ओली निकट एक नेताले काठमाडौंपाटीसंग भने ।
दुवै पार्टीका नेताहरुले पार्टी एकताको टुंगो आजै लाग्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement