सुमनामाथि ओलीको टिप्पणीले एमाले र रास्वपाबीच दूरी बढ्ने सम्भावना

सुमनामाथि ओलीको टिप्पणीले एमाले र रास्वपाबीच दूरी बढ्ने सम्भावना


काठमाण्डु- सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच दुरी बढ्ने सम्भावना देखिएको छ ।

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाबाट मन्त्री बनेकाहरू प्रति गरेको कटाक्षमा रास्वपाका शीर्ष तहका नेताहरूले अस्वभाविक भनेर सार्वजनिक कार्यक्रममै टिप्पणी गरेपछि दूरी बढ्ने सम्भावना देखिएको हो ।

एमालेअध्यक्ष ओलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै विवाह गरेर नेपाल घुम्‍न आउँदा मन्त्री बनेको टिप्पणी गरेका थिए ।

‘एक देशमा एक चेली कता गएर पढिन्, कता बिहे भयो, अनि माइती देशमा एकपटक गइन् अरे, माइती देशमा असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा अन्योलको स्थिति । को उठ्छ भन्दा म उठ्छु । कसलाई समानुपातिक चाहिएको छ भन्दा मलाई भनेर सांसद भइन् अरे । मन्त्री भइन अरे । कहिले – कहिले हुन्छ त्यस्तो । अकासबाट पनि कहिलेकाहीँ पानीसँगै माछा खस्छ, सधैँ त्यस्तो हुँदैन,’  केहि दिन अगाडि युवा संघले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले सुमनामाथि कटाक्ष गर्दै भनेका थिए ।

अध्यक्ष ओलीकाे कटाक्ष गर्न थालेपछि रास्वपा सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, सांसद शिशिर खनाल र स्वयं सुमनाले ओलीको बाेलीमाथि प्रश्न उठाएका छन् ।

रास्वपाकी समानुपातिक सांसद श्रेष्ठले पोल्यान्डका नागरिक पाबल स्वविन्ससँग विवाह गरेकी छन् । जेठ ८ मा सार्वजनिक भएको मन्त्री श्रेष्ठको सम्पत्ति विवरणमा श्रीमान् स्वविन्सको नाममा १ लाख ८९ हजार ७ सय अमेरिकी डलर र पोल्यान्डको मुद्रा १ लाख ८० हजार रहेको उल्लेख छ । यही हेरेपछि ओलीकाे टिप्पणी आएको निकटस्थहरू बताउँछन् ।

बुधबार मन्त्री सुमनाले अध्यक्ष ओलीको कटाक्षको जवाफ फर्काउँदै आफ्नो सचिवालयको सामाजिक सञ्जाल फेसबुकमा विदेशमा बिहे गरेपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन ? भन्दै प्रश्न गरेकी छन् । विदेशसँग सम्बन्ध हुँदैमा मान्छे देशद्रोही नहुने जवाफ सुमनाको छ ।

‘विदेशमा प्रेम होला, बिहे होला । विदेशमा बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन ? श्रीमानको पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही हुन्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेका छौँ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एक जना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो,’ सुमनाको सचिवालयको फेसबुकमा लेखिएको छ ।

सुमनाले आफ्नो नागिरकताबारे आशंका रहेमा छानबिनका लागि पटक- पटक आग्रहसमेत गर्दै आएको छन् ।

सुमनामाथि ओलीको टिप्पणीप्रति रास्वपाको आपत्ति

शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित अध्यक्ष ओलीको टिप्पणीलाई रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले समेत आपत्ति जनाएका छन् । बुधबार काठमाण्डुमा आयोजित कार्यक्रममा लामिछानेले शिक्षामन्त्री श्रेष्ठमाथि ओलीले गरेको टिप्पणीलाई पार्टीको गम्भीर रूपमा आपत्ति जनाएको बताए ।

उनले प्रेम गर्ने, विवाह गर्ने भन्नेकुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मानबाहेक अरु केही गर्न नसक्ने बताए ।

‘शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भिर आपत्ति जनाएका छौँ। तपाईले कसलाई माया गर्ने, कोसित विवाह गर्ने, तपाईको व्यक्तिगत जीवन कस्तो हुने ? भन्ने कुरा तपाईको निर्णय हो, मात्र तपाईको। अरु कसैको निर्णय होइन। तपाईलाई कोसँग माया गर्नुछ, तपाईले कोसँग विवाह गर्नुहुन्छ, त्यो तपाईको व्यक्तिगत निर्णय हो । त्यो निर्णयको सम्मान गर्ने बाहेक अरुले त्यसमा केही पनि गर्न सक्दैन’, ओलीलाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले भने।

त्यस्तै रास्वपाले सुमना लक्षित अध्यक्ष ओलीको टिप्पणीप्रति संसद्‍मासमेत असन्तुष्टि जनाएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले ‘घुम्दा घुम्दै मन्त्री बनेको’ भनेर टिप्पणी गरेको भन्दै आपत्ति जनाए ।

नेपालकै इतिहासमा विदेशीसँग विवाह गर्ने नेपाली महिलाहरू सम्मानित रहेको सांसद खनालले स्मरण गरे । ‘कुनै एउटा यस्तो युग थियो जहाँ काठमाण्डुकी राजकुमारी तिब्बतका राजासँग बिहे गरिन् । जनकपुरकी राजकुमारी अयोध्याका राजकुमारसँग बिहे गरे र ती दुवै पुज्य भए । आज यस्तो जमाना आयो विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ १० वर्ष अगाडि देश फर्किइन्, भूकम्पको बेला औषधि लिएर गाउँ गाँउमा पुगिन्, नाकाबन्दीको बेला ‘कारपुल’ भनेर सडकमा हिँडिरहेका मानिसहरूलाई यात्राको सुविधा प्रवाह गरिन्, उद्यममार्फत रोजगारी सिर्जना गरिन् र राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दा घुम्दै आएर मन्त्री बनेको भनिएको छ,’ सांसद खनालले भने ।

अध्यक्ष ओलीले सुमनामाथि मात्र होइन गृहमन्त्री लामिछानेमाथि पनि कटाक्ष गरेका थिए । उनले लामिछानेलाई ‘भँगेरा’को संज्ञा दिएका थिए । ओलीले कांग्रेस रवि लामिछानेविरुद्धमा खनिनु भनेको ‘भँगेरा मार्न तोप बोकेर जानु सरह’ भएको टिप्पणी गरेका थिए ।

‘अहिले नेपाली कांग्रेस रवि लामिछाने कि को भन्ने पात्रविरुद्ध खनिएको छ । के खनिनु ? भँगेरा मार्न जाने तोप बोकेर,’ जेठ १० गते सुनसरीमा आयोजित  कार्यक्रममा ओलीले कटाक्ष गरेका थिए ।

सत्ता गठबन्धनको प्रमुख दलका अध्यक्ष ओलीले यसरी बारमबार रास्वपाबाट मन्त्री बनेकाहरुप्रति कटाक्ष गर्न थालेपछि रास्वपा र एमालेबीच दूरी बढ्ने आँकलन गरिएको छ । सुमनामाथि ओलीले गरेको टिप्पणीप्रति रास्वपाका नेताहरुले संसदमा नै असन्तुटि पोख्नुबाट एमाले र रास्वपाबीच दूरी बढ्ने सम्भावनाको आकलन गर्न गाह्रो छैन ।

निकटस्ठ स्रोतले ओलीको बोलीबारे रास्वपा सभापतिसमेत रहेका लामिछानेले एमालेका अन्य नेताहरूसँग र प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्टि जाहेर गरिसकेको जानकारी दिएको छ । रास्वपा नेताहरूको असन्तुष्टिका सम्बन्धमा आली र एमाले नेताहरूको भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

ओलीको बोलीबारे तत्काल केही प्रतिकृया नजनाएका गृहमन्त्री लामिछानेले पार्टीभित्र यसबारे चर्को दबाब बढेपछि मुख खोलेका थिए । रास्वपा निकट स्रोतका अनुसार पार्टीलाई दबाउने र हेप्‍ने काम प्रमुख दलका शीर्ष नेताहरूबाट भइरहेकाले त्यसविरुद्ध चर्को आवाज उठाउन अन्य नेताहरूले रविलाई दबाब दिइरहेका छन्।