प्रधानमन्त्री ओली र चिनियां राष्ट्रपतिबीच भेटवार्ताः रेलमार्गदेखी तेलभण्डारसम्म बनाईदिने प्रतिवद्धता


बेइजिङ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियां राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति सीसंगको भेटवार्ता सफल भएको बताए ।

उनकाअनुसार भेटवार्तामा चिनिया राष्ट्रपतिले चिनिया रेल काठमाडौंसम्म पुर्याउने विषयमा चीनले सहयोग गर्ने बचन दिएका छन् ।राष्ट्रपतिसंगको भेटवार्तापछि पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले चिनिया राष्ट्रपतिसंग निकै सौहार्द र न्यानो वातावरणमा भेटवार्ता भएको बताए । उनले भेटमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा आफु दोस्रो पटक चीन भ्रमण गर्न पाउंदा निकै खुसी भएको अनुभुती समेत व्यक्त गरेको जानकारी दिए ।

प्रधानमन्त्रीले भेटमा साढे दुई वर्षको बीचमा नेपालको राजनितिमा ठुलो परिवर्तन आएको, यो विचमा नेपालले तीन वटा निर्वाचन सम्पन्न गरेको र संक्रमणकालको अन्त्य भएको बताएका थिए ।

ज्ञवालीकाअनुसार प्रधानमन्त्रीले चिनियां राष्ट्रपतिलाई नेपाल स्थायीत्वको चरणमा प्रवेश गरेको र चीनसंगको परम्परागत सम्बन्धलाई नया उचाईमा पुर्याउन आफु ईच्छुक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले मित्रता र विश्वासलाई सुदृढ गर्न आफु चीनको भ्रमणमा आएको बताएका थिए ।

जवाफमा राष्ट्रपति सीले प्रधानमन्त्रीको रुपमा २०१६ मा चीन भ्रमणमा आउंदा भएका समझदारीबारे प्रधानमन्त्री ओलीलाई स्मरण गराएका थिए । उनले संक्रमणकाल अन्त्य हुनु र राजनितिक स्थायीको चरणमा नेपाल प्रवेश गर्नु असल छिमेकीको हिसावले चीनका लागी समेत खुसीको विषय भएको बताए । प्रधानमन्त्री ओलीको खुसी नेपाली र सुखी नेपालीको अभियानलाई चीन सहयोग गर्न तयार रहेको धारणा समेत  उनले राखेका थिए ।

उनले नेपालको स्वतन्त्र हिड्ने बाटोमा चीन सहयोग गर्न सदैव तयार रहेको धारणा समेत राखेको मन्त्री ज्ञवालीले बताए । नेपालले विआरआईअन्र्तगत पुर्वाधारमा सर्वोपरी जोड दिएको भन्दै चिनिया राष्ट्रपति सीले त्यसमा चीनको बलियो साथ रहने धारणा राखेका थिए ।

उनले रेलमार्गबाट नेपालको विकासमा सहयोग पुग्ने भन्दै त्यसका लागी सहयोग गर्न आफु तयार रहेको बताएका थिए । नेपालले अघि सारेको उत्तर-दक्षिण राजमार्गको सपना साकार पार्न समेत चीनले सहयोग गर्ने प्रतिवद्धता जनाएको ज्ञवालीले बताए । चिनिया राष्ट्रपतिले भेटमा थप हवाई रुट निर्माण गर्ने,तिव्वतीय हाईवे प्रयोग गर्ने र नाका खोल्ने विषयमा समेत सहयोग गर्ने भेटमा बताएका थिए ।

उनले नेपाली उत्पादनलाई चिनिया बजारमा प्रवद्र्धन गर्न समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् परराष्ट्रमन्त्री ज्ञवालीकाअनुसार राष्ट्रपति सीले नेपालले अन्य देशसंग घनिष्ट सम्बन्ध राखे चीनलाई कुनै समस्या नहुने धारणा राखेका थिए । उनले चीनले पनि नेपालसंग घनिष्ट सम्बन्ध राख्दा अरु कसैलाई समस्या नपर्ने बताएका थिए । भारतिय प्रधानमन्त्रीसंगको भेटमा क्ष्ँेत्रिय सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी समेत राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई दिएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । चिनिया राष्ट्रपति सीले नेपाल भ्रमणमा आफु छिट्टै आउने बताएका थिए ।

चिनिया प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा बेइजिङको औपचारीक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री भेट्नुपुर्व राष्ट्रपति सीसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि चिनिया समकक्षीसंगको भेटवार्तापछि राष्ट्रपतिसंग भेट्ने चिनियां प्रचलन थियो ।

राष्ट्रपतिसंगको भेटवार्ताअघि प्रधानमन्त्री ओलीले चिनियां क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रदान्जली व्यक्त गरेका थिए । भेटवार्तामा गृहमन्त्री रामबहादुर थापा,उर्जामन्त्री बर्षमान पुन,परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भौतिक योजनामन्त्री रघुविर महासेठलगायत उपस्थित थिए । चीनको तर्फबाट छलफलमा चिनियां विदेशमन्त्री,यातायातमन्त्री र वाणिज्यमन्त्री सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement