काठमाण्डु – देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूको यातायात सेवा प्रभावित भएको छ।
कोशी प्रदेशअन्तर्गत सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान साढे १० बजे पहिरो जाँदा कोशि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन।
यसैगरी बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी र पहिरोका कारण सडक आवतजावतमा असर परेको छ। काभ्रे जिल्लाको विपि राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै असोज १६ गतेदेखि विशेष व्यवस्था लागू गरिएको छ।
साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहने र बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थिति हेरेर १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको छ।
रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू बिहान साढे १० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा असोज ०१ गते राति १० बजेदेखि सम्भावित बाढी र पहिरोको जोखिमका कारण टोखा छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
यस्तै पसाङल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा असोज १० गते बिहान साढे १० बजे बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
धादिङ जिल्ला भएर जाने पृथ्वीलोकमार्गमा भने पहिरो हटाई यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाडखोलामा भदौ १६ गते र शीतलबजारमा भदौ २६ गते गएको पहिरो साफ गरी सडकलाई एकतर्फी सुचारु गराइएको छ। सडक विभाग र प्रहरी टोली अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन निरन्तर खटिरहेका छन्।





प्रतिक्रिया