पोखरा-पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको घर गएराति पहिरोले पुरिएको हो ।
अविरल वर्षापछिको पहिरोले घर पुरिँदा ४६ वर्षका कुल बहादुर परियार, ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
पहिरोमै परेर चितवन घर भइ पोखरा माइत आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान् २५ वर्षका पश्मित परियार र अर्की एकजना महिला ५६ वर्षकी राधिका परियारको पनि मृत्यु भएको छ ।
पहिराले पुरिएका अन्य २ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।
छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको शर्माले बताए ।
यस्तै म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ ।
प्रतिक्रिया