काठमाण्डु-सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक शुक्रबार साँझदेखि पहिरोले अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–३ केराबारी भन्ने स्थानमा पहिरोले सडक पुरिएपछि पूर्णरुपमा अवरुद्ध बनेको छ ।
सडक अवरुद्ध हुँदा बुटवलदेखि पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी लगायतका ठाउँका लागि हिडेका तथा त्यहाँबाट बुटवलतर्फ आउँदै गरेका सवारीहरु बीच बाटोमै अलपत्र परेका छन् ।
शुक्रबार साँझदेखि अवरुद्ध बनेको सडक शनिबार पनि नखुल्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी पाल्पाको बर्तुङ पोखरा सडक पनि पहिरोले अवरुद्ध भएको छ । बगनासकाली–१ मा पहिरोले बाटो अवरुद्ध भएको हो ।
उता रोल्पा त्रिबेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा, रुकुमपूर्य, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पाका विभिन्न मुख्य तथा सहायक सडकहरु अवरुद्ध भएका छन् । निरन्तर वर्षा भइरहेकाले यहाँका बाटो खुलाउन समय लाग्ने त्यहाँस्थित प्रहरी कार्यालयहरुले जनाएका छन् ।
प्रतिक्रिया