काठमाण्डु- नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडक फेरि अवरुद्ध भएको हो।
अचानक माथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको सुख्खा पहिरो झरेपछि सवारी आवागमन प्रभावित बनेको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ।
सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ। यसबीच पहिरो पूर्ण रूपमा हटाएपछि मात्रै सवारी सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्न सक्ने सडक डिभिजन कार्यालयले जनाएको छ।
पहिरोका कारण पृथ्वी राजमार्ग हुँदै काठमाण्डु भित्रने तथा पोखरा, चितवन लगायत विभिन्न जिल्लातर्फ जाने सवारी साधन बीच बाटोमै रोकिएका छन्।
ढुंगा खस्न रोखिएपछि बिहीबार बिहानदेखि मात्रै यहाँ दुई तर्फी गाडी चल्न थालेका थिए। त्यसअघि दुईतीन दिनसम्म यहाँ सवारी आवागमन एकतर्फी गरिएको थियो।




प्रतिक्रिया