अझै बाढीपहिरोको जोखिम


काठमाण्डु – मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन सकिने बेलामा पुनः लगातार परेको वर्षाले अझै बाढी, पहिरो र डुुबानको जोखिम बढेको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले मनसुन अझै सक्रिय रहेकाले बाढी र पहिरोबाट हुनसक्ने जोखिम अझै टरिनसकेको बताउनुुभयो ।

गृह मन्त्रालय नेपाल विपद् व्यवस्थापन पोर्टलका अनुसार २०७७ जेठ ३० देखि असोज ५ गते सम्मको अवधिमा ३०७ जनाको मानवीय क्षति भएको हो । बाढीले बगाएर तथा पहिरोमा पुरिँदा अझै पनि सय जना बेपत्ता छन् । त्यस्तै २१४ जना घाइते भएका छन् । बेपत्ता नागरिकको खोजी जारी नै रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै एक हजार १७८ घरपरिवार प्रभावित हुनुका साथै ५३५ वटा घरमा पूर्ण र १०५ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी १०५ वटा गोठ भत्किँदा ६१५ चौपाया मरेका छन् विपद् व्यवस्थापन पोर्टलका सूचना अधिकारी सिर्जना श्रेष्ठले विभिन्न विपद्बाट करिब आठ करोड ८३ लाख ८१ हजार रुपियाँ मूल्य बराबरको क्षति भएको जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । उहाँका अनुसार सिन्धुपाल्चोकमा बाढीपहिरो मात्र १८ स्थानमा गएको छ । ३८ पुरुष र ३३ महिला गरी ७१ को ज्यान गएको छ भने ३८ जना बेपत्ता छन् ।

त्यसैगरी १३१ घर परिवार विस्थापित भएका छन् । त्यस्तै कालीकोट–३९, बागलुङ–३३, म्याग्दी–२९, पर्वत–१०, तनहुँ–१३, कास्की–११, जाजरकोट–११, गुल्मी–१०, बझाङ–नौ, अछाम–नौ, दार्चुला–सात, धादिङ, स्याङ्जा, पाल्पा, रुकुम पश्चिममा पाँच–पाँच, लमजुङ चार, गोरखा र काठमाडौँमा तीन–तीन, बैतडी, सुर्खेत, दैलेख, दाङ, रोल्पा, झापा र ताप्लेजुङमा दुई–दुईको मृत्यु भएको छ । मोरङ, सुनसरी, मकवानपुर, सल्यान र मुस्ताङमा एक–एकको मृत्यु भएकाे छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement