पाकिस्तानलाई सामान्य अवस्थामा फर्काउन प्रत्येक नागरिकले भूमिका खेल्नुपर्छ: इमरान खान


काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानलाई सामान्य अवस्थामा फर्काउन र गरिब जनताको जीवनमा सुधार ल्याउन प्रत्येक नागरिकले भूमिका खेल्नु पर्ने बताएका छन् । सोमबार राष्ट्रका लागि सम्बोधन गर्दै इमरान खानले यस्तो बताएका हुन् ।

उनले पाकिस्तानका सबै नागरिकलाई जुन ३० तारिखसम्म आफ्नो सम्पत्ति विवरण बुझाउन आग्रह गरेका छन्। उनका अनुसार यसरी वैध धन र कालो धन पत्ता लाग्नेछ। कालो धनलाई सरकारले जफत गरी आर्थिक अवस्था सुधारमा खर्च गर्नेछ। ‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट ३० हजार अर्ब रुपैंयामा पुगेको छ। हामीले जुन चार हजार अर्बको वार्षिक कर उठाउँछौं त्यसको आधा रकम ऋणको किस्ता तिर्नमा जान्छ। बाँकी पैसा जुन बच्छ त्यसले देशको खर्च चल्न सक्दैन ।’

इमरान खानले भने,‘पाकिस्तानी विश्वमा कम कर तिर्ने नागरिकहरुमा पर्दछन्। तर यहाँकै नागरिक सबैभन्दा बढी ऋणको बोझमा छन्। यदी हामी तयार भयौं भने प्रत्येक वर्ष कम्तिमा १० हजार अर्ब रुपया जम्मा गर्नसक्छौं।’ खानले ३० तारिखसम्म सम्पत्ति सार्वजनिक गर्न आग्रह गर्दै सरकारसँग सबैको सम्पत्ति विवरण भएको बताए। उनले यस कार्यमा गम्भीर हुन आग्रह गरे।

उनले भने,‘हामीसँग कसको सम्पत्ति विदेशमा छ। कसको नक्कली वैंक खातामा पैसा छ। सबै सूचना छ।’ उनले भगवान् अल्लाको नाम लिँदै सहयोगको अपेक्षा गरेका थिए।इमरान खानको सरकार भयानक आर्थिक संकटमा गुज्रिरहेको छ। तीन ट्रिलियन रुपया घाटाको बाबजुद सरकारले मंगलबार बजेट पेश गर्दैछ।

प्रतिक्रिया दिनुहोस
Advertisement